भदौमा घरजग्गाबाट ३ अर्ब ९१ करोड राजस्व,आधाभन्दा बढी कमाई उपत्यकाबाटै

भदौमा घरजग्गाबाट ३ अर्ब ९१ करोड राजस्व,आधाभन्दा बढी कमाई उपत्यकाबाटै

कााठमाडौं : २०८३ सालको भदौमा देशभर भएको घरजग्गा कारोबारबाट सरकारले तीन अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतका १५८ वटा भूमि प्रशासन (मालपोत) कार्यालय तथा स्थानीय तहले संकलन गरेको एकीकृत विवरणअनुसार घरजग्गा कारोबारबाट उक्त राजस्व उठेको हो।

भदौमा संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा लिखत रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकर (सीजीटी) को रहेको छ। विभागका अनुसार रजिष्ट्रेशन दस्तुरबाट एक अर्ब ९० करोड २१ लाख रुपैयाँ र पूँजीगत लाभकरबाट एक अर्ब ७९ करोड ३५ लाख रुपैयाँ संकलन भएको छ।

त्यस्तै सेवा करबाट १६ करोड ८२ लाख, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट दुई करोड तीन लाख तथा डोर सुविधा, विलम्ब शुल्क र रोक्का दस्तुरलगायतबाट करीब दुई करोड ८० लाख रुपैयाँ संकलन भएको छ।

कुल राजस्वको ५५ प्रतिशतभन्दा बढी हिस्सा काठमाडौं उपत्यकाका नौवटा कार्यालयबाट संकलन भएको छ। उपत्यकाका कार्यालयबाट मात्रै दुई अर्ब १६ करोड २७ लाख रुपैयाँ राजस्व उठेको विभागको तथ्यांक छ।

उपत्यकाभित्र सबैभन्दा बढी राजस्व संकलन गर्नेमा भक्तपुर कार्यालय अगाडि छ। भक्तपुरले भदौमा ४९ करोड १६ लाख ९७ हजार ५२० रुपैयाँ राजस्व उठाएको छ। त्यसमध्ये रजिष्ट्रेशन दस्तुरबाट २२ करोड ११ लाख र पूँजीगत लाभकरबाट २५ करोड १४ लाख रुपैयाँ संकलन भएको छ।

त्यसपछि ललितपुरको लगनखेल कार्यालयले ३८ करोड ८० लाख ७४ हजार ८०४ रुपैयाँ राजस्व संकलन गरेको छ। काठमाडौंका कलंकी, चावहिल र डिल्लीबजार कार्यालयले क्रमशः ३७ करोड १२ लाख ५५ हजार ८६६ रुपैयाँ, ३३ करोड ५५ लाख २६ हजार ४५ रुपैयाँ र ३१ करोड ४३ लाख ९४ हजार ८४४ रुपैयाँ राजस्व उठाएका छन्।

उपत्यकाबाहिर भने कास्कीको पोखरा कार्यालयले सबैभन्दा बढी १६ करोड ८३ लाख ७ हजार ५६० रुपैयाँ राजस्व संकलन गरेको छ। सुनसरीको इनरुवाले १५ करोड ४२ लाख १६ हजार ६८३ रुपैयाँ र रुपन्देहीको बुटवलले ११ करोड ८८ लाख एक हजार ८९ रुपैयाँ उठाएका छन्।

चितवनले नौ करोड ४६ लाख, भैरहवाले आठ करोड ३६ लाख, विराटनगरले सात करोड ७६ लाख, वीरगञ्जले सात करोड ७२ लाख र भद्रपुरले सात करोड ५१ लाख रुपैयाँ संकलन गरेका छन्। काभ्रे र जनकपुरधामले समान छ करोड ३८ लाख तथा बेलबारीले छ करोड पाँच लाख रुपैयाँ राजस्व उठाएका छन्।

दाङका घोराही र तुलसीपुरबाट क्रमशः पाँच करोड तीन लाख र चार करोड ७३ लाख रुपैयाँ, नेपालगञ्जबाट चार करोड ७६ लाख र धनगढीबाट तीन करोड ९९ लाख रुपैयाँ संकलन भएको छ। यसको विपरीत हिमाली तथा विकट पहाडी क्षेत्रमा घरजग्गा कारोबार न्यून देखिएको छ। बाजुराले २२ हजार ६३३ रुपैयाँ, गोरखाको सिर्दिवासले २९ हजार ४०० रुपैयाँ, बझाङको झोताभैरवले ४५ हजार ७२८ रुपैयाँ, डडेल्धुराको जोगबुढाले ९९ हजार ६१४ रुपैयाँ र अछामले एक लाख २८ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेका छन्।

भदौको तथ्यांकले घरजग्गा कारोबारबाट उठ्ने राजस्वमा काठमाडौं उपत्यकाको वर्चस्व कायमै रहेको देखाएको छ भने उपत्यकाबाहिर पोखरा, इनरुवा, बुटवललगायतका प्रमुख व्यापारिक केन्द्रमा पनि कारोबारको आधार तुलनात्मक रूपमा बलियो रहेको देखाउँछ।

असोज ३, २०८३ शनिबार १०:३०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।