२४ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थपियो करिब २३ करोड
काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब २३ करोड थपिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा बुधबारको तुलनामा बिहीबार २२ करोड ७५ लाख ३८ हजार थपियो।
कोषमा बिहीबार साँझसम्म विभिन्न नौ वटा बैंकमा मौज्दात रकम १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार पुगेको छ। त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड ३९ लाख ३० हजार अमेरिकी डलर जम्मा भएको छ।
कार्यालयका अनुसार सबै खातामा गरी १४ अर्ब ५६ करोड ३८ लाख जम्मा मौज्दात छ। कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा भइसकेको छ।
सरकारले हालै रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ। जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र थप प्रत्येक सदस्यका लागि दुई हजार अतिरिक्त उपलब्ध गराइने छ।
असोज १, २०८३ बिहीबार २१:४८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।