एनपीएल खेल्न आउँदै श्रीलंकाका कप्तान असलङ्का
काठमाडौं : श्रीलङ्काको टी-२० क्रिकेट टोलीका कप्तान चरिथ असलङ्काले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।
विराटनगरले बिहीबार सामाजिक सञ्जालमार्फत असलङ्कालाई आगामी ‘सिजन’ का लागि विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको जानकारी दिएको हो। २९ वर्षीय असलङ्काले श्रीलङ्काका लागि ७७ टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ४६६ रन बनाएका छन्।
बलिङतर्फ उनले सात विकेट लिएका छन्। फ्रेन्चाइज क्रिकेटमा पनि उनले अनुभव हासिल गरिसकेका छन्। असलङ्काले हालसम्म १८५ टी-२० खेल खेल्दा तीन हजार ७१५ रन बनाउनाका साथै ३७ विकेट लिएका छन्।
उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल), लङ्का प्रिमियर लिग (एलपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र इन्टरनेसनल लिग टी-२० लगायत चर्चित फ्रेन्चाइज लिगमा सहभागिता जनाइसकेका छन्।
अब असलङ्का एनपिएलमा पनि देखिने छन्। एनपिएलको तेस्रो सिजन कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुने तालिका छ।
असोज १, २०८३ बिहीबार २१:१७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।