स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुने
काठमाडौं : स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि र प्रारम्भिक पहिचानको महत्वबारे जानकारी फैलाउने उद्देश्यका साथ आगामी असोज १७ गते ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ।
इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको यो पदयात्रा बिहान ६ बजे काठमाडौँ दरबार स्क्वायर, बसन्तपुरबाट सुरु भई पाटन दरबार स्क्वायर, मंगलबजारमा पुगेर समापन हुनेछ।
कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ। स्तन क्यान्सरको समयमै पहिचान गरी प्रभावकारी उपचारका लागि समुदायलाई सचेत गराउनु र प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउनु यस अभियानको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।
इन्फिनिट केयर्सका इकाई प्रमुख दिजुप तुलाधरका अनुसार पिंकवाक केवल एउटा पदयात्रा नभई सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभिव्यक्ति हो। स्तन क्यान्सरका बारेमा खुलेर कुरा गर्ने वातावरण निर्माण गर्न र प्रारम्भिक पहिचानको महत्व बुझाउन यसले सहयोग पुर्याउने उनले बताए।
"पिंकवाक केवल एउटा पदयात्रा होइन, यो सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभिव्यक्ति हो। स्तन क्यान्सरका बारेमा खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नु, प्रारम्भिक पहिचानको महत्त्व बुझाउनु र क्यान्सरबाट प्रभावित व्यक्ति तथा परिवारको साथमा समुदायलाई उभ्याउनु हाम्रो मुख्य उद्देश्य हो। सबैलाई पिंकवाक २०२६ मा सहभागी भई यस अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गर्दछौँ," तुलाधरले भने।
यसअघि २०८० असोजमा सम्पन्न पहिलो संस्करणमा ६०० भन्दा बढीको सहभागिता रहेको थियो। यस दोस्रो संस्करणलाई नेशनल अस्पताल तथा क्यान्सर सेन्टर,आईएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, इसेवा, ह्याप्पी माइन्डस्, डब्लूओडब्लू (वर्ल्ड अफ विमेन) काठमाडौँ तथा ललितपुर महानगरपालिकालगायत विभिन्न साझेदार संस्थाले सहयोग गरेका छन्।
असोज १, २०८३ बिहीबार १६:४८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।