प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ सहयोग गरेका व्यक्तिलाई पर्‍यो १ लाखको करदाता पुरस्कार

प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ सहयोग गरेका व्यक्तिलाई पर्‍यो १ लाखको करदाता पुरस्कार

काठमाडौं : सरकारले भदौ महिनाका लागि करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत ३३ जना विजेता छनोट गरेको छ।

आन्तरिक राजस्व विभागले भदौ महिनाभर कर तिरेका करदाताहरूमध्येबाट लट्री प्रणालीमार्फत छनोट गरिएका विजेतामध्ये दुई जनाले जनही १० लाख रुपैयाँ र ३१ जनाले जनही एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।

यसपटकको पुरस्कारमा प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ सहयोग गरेका एक व्यक्ति एक लाख रुपैयाँका लागि छनोट भएका छन्। 

सामान्यतया यो कार्यक्रमअन्तर्गत हरेक १५/१५ दिनमा लट्रीमार्फत विजेता छनोट गरिन्छ। तर, भदौ १० गते रसुवामा गएको बाढीका कारण नियमित प्रक्रिया प्रभावित भएपछि भदौ महिनाका लागि एकैपटक लट्री गरिएको विभागले जनाएको छ।

१० लाख रुपैयाँ पुरस्कारका लागि दुई वटा बिजक नम्बर छनोट भएका छन्। ती नम्बर ०४८ ९१५ ६१८ २११ र ०३६ ४४७ ८५२ ३७८ हुन्।

विभागले करदातालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिजक माग्न प्रोत्साहित गर्ने उद्देश्यले करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ। उपभोक्ताले बिजक माग्दा व्यवसायीले गरेको कारोबार आधिकारिक रूपमा अभिलेखमा आउने र त्यसका आधारमा कर संकलनमा समेत सहयोग पुग्ने विभागको भनाइ छ।

विभागका अनुसार कार्यक्रमको मुख्य उद्देश्य कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउनु र कारोबारलाई पारदर्शी बनाउनु हो। उपभोक्ताले बिजक माग्दा व्यवसायीको वास्तविक कारोबार अभिलेखमा आउने भएकाले यसले कर छली नियन्त्रण तथा करको दायरा विस्तार गर्न सहयोग पुग्ने विभागको अपेक्षा छ।

असोज १, २०८३ बिहीबार १३:४६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।