सरकारले भन्यो- 'काठमाडौंमा चिनीको अभाव छैन, उपत्यकाका हजारभन्दा बढी स्थानबाट ११० रुपैयाँमा उपलब्ध छ'

सरकारले भन्यो- 'काठमाडौंमा चिनीको अभाव छैन, उपत्यकाका हजारभन्दा बढी स्थानबाट ११० रुपैयाँमा उपलब्ध छ'

काठमाडौं : चाडपर्वको मुखमा बजारमा चिनीको अभाव भएको र महँगोमा किन बाध्य हुनुपरेको गुनासो बढिरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा पर्याप्त मात्रामा चिनी बिक्री वितरण भइरहेको जनाएको छ।  

विभागले बुधबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी स्थानबाट प्रतिकिलो ११० रुपैयाँमा सर्वसुलभ रूपमा चिनी बिक्री–वितरण भइरहेको दाबी गरेको हो।

भोटेकोशी नदीको बाढी-पहिरोले पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुनुका साथै भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धका कारण बजारमा चिनीको अभाव हुन सक्ने आशङ्का गरिएको थियो। तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहको अध्यक्षतामा गत भदौ ३० गते सरोकारवालाहरूसँग बसेको बैठकले चिनीको सहज आपूर्ति सुनिश्चित गरेको विभागले जनाएको छ।  

हाल काठमाडौं उपत्यकाका भाटभटेनी, बिग मार्ट, सेल्सबेरीलगायत एक हजारभन्दा बढी बिक्री केन्द्रहरूबाट प्रतिकेजी ११० मा रुपैयाँमै चिनी बिक्री भइरहेको विभागले जनाएको छ।

बजारमा चिनीको सहज आपूर्ति भइरहेकाले अस्वाभाविक रूपमा चिनी सञ्चय नगर्न र नआत्तिन विभागले आम उपभोक्तालाई आग्रहसमेत गरेको छ। 

भदौ ३१, २०८३ बुधबार १८:०४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।