गत आवमा सात खर्ब २० अर्बको घरजग्गाको कारोबार
काठमाडौं : पछिल्लो आर्थिक वर्षमा नेपालमा घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको छ।
राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा भने तीन खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासमै दुई खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो वर्ष २०८१/८२ को सोही अवधिमा एक खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ मात्र थियो। अघिल्लो वर्ष १.८४ प्रतिशतले घटेको कारोबार संख्या पनि यस वर्ष ४.७४ प्रतिशतले बढेको छ। यसरी हेर्दा गत आवमा घरजग्गा कारोबारमा उत्साह देखिएको छ।
घरजग्गा बजारमा आएको यो सुधारले राजस्व र बैंक वित्तीय क्षेत्रमा समेत सकारात्मक प्रभाव पारेको छ। समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलित राजस्व ४८.२६ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर ६३.२२ प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो वर्षको चौथो त्रैमासमा राजस्व र पुँजीगत लाभकर वृद्धिदर क्रमशः २३.४५ प्रतिशत र २९.९८ प्रतिशत थियो।
यस्तै, आवासीय घरजग्गा कर्जासहित यस क्षेत्रमा जाने बैंक कर्जा प्रवाह पनि ५.८६ प्रतिशतबाट बढेर ६.९३ प्रतिशत पुगेको छ। समग्रमा, बागमती प्रदेश तथा काठमाडौं उपत्यकाका मुख्य सहरहरूमा किनबेच र मूल्य वृद्धि उल्लेख्य रहँदा घरजग्गा क्षेत्रका सबै प्रमुख सूचकहरू सकारात्मक बनेका छन्।
भदौ ३०, २०८३ मंगलबार १६:४२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।