सेयर बजारमा हरियाली : ४८.५७ अंकले बढ्यो नेप्से, कारोबार रकम ८ अर्ब नाघ्यो

सेयर बजारमा हरियाली : ४८.५७ अंकले बढ्यो नेप्से, कारोबार रकम ८ अर्ब नाघ्यो

काठमाडौं : मंगलबार सेयर बजारमा लगानीकर्ता उत्साहित देखिएका छन्। सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाको प्रभाव नेप्सेमा देखिएको हो। यसदिन नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३ विन्दुमा कायम भयो। 

नेप्सेको आजको अंक भदौ १ यताकै उच्च हो। नेप्सेमा वृद्धि भएसँगै बजारको कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिन चार अर्ब ६८ करोडको कारोबार भएकोमा आज आठ अर्ब २९ करोडको कारोबार भयो।  

यसदिन सबै समूहका उपसूचक बढेका छन्। बैंकिङ १.९०, विकास बैंक १.७६, फाइनान्स २.२३, होटल तथा पर्यटन १.४२, जलविद्युत् १.८४, लगानी २.५२, जीवन बीमा २.५९, उत्पादन तथा प्रशोधन ०.७७, माइक्रोफाइनान्स १.७५, निर्जीवन बीमा २.८२, अन्य २.१२ र व्यापार ०.९२ प्रतिशत बढे।

आज २६५ कम्पनीको मूल्य बढ्दा १२ को घटेको छ भने एउटाको स्थिर रह्यो। धौलागिरि लघुवित्तको १४.९६ र सिन्धु विकास बैंकको ११.०३ प्रतिशत मूल्य बढेको छ।

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी तथा लक्ष्मी सनराइज बैंक छन्।

भदौ ३०, २०८३ मंगलबार १५:३६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।