नेपालले भारतबाट दैनिक १८ घण्टा बिजुली आयात गर्ने

नेपालले भारतबाट दैनिक १८ घण्टा बिजुली आयात गर्ने

काठमाडौं : गत भदौ १० गतेको भीषण बाढीका कारण जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेपछि नेपालले भारतबाट बिजुली आयात गर्ने भएको छ।

भारत सरकारको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई दैनिक १८ घण्टासम्म विद्युत् उपलब्ध गराउने औपचारिक स्वीकृति दिएको हो।

भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) का अनुसार नेपाललाई आगामी ३१ डिसेम्बरसम्मका लागि दैनिक १८ घण्टा (राति १२:०० बजेदेखि साँझ ६:०० बजेसम्म) विद्युत् आयातको अनुमति दिइएको छ।

मन्त्रालयका अनुसार ढल्केबर-मुजफ्फरपुर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत ६०० मेगावाटसम्म र टनकपुर-महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट लाइनमार्फत ५४ मेगावाट गरी नेपालले कुल ६५४ मेगावाटसम्म बिजुली आयात गर्न सक्नेछ।

सन् २०२७ जनवरीपछिको विद्युत् परिमाणका विषयमा भने आगामी डिसेम्बरमा पुनरावलोकन गरिने जनाइएको छ।

४३१ मेगावाट उत्पादन बन्द
नेपालमा भदौ १० गते आएको बाढीले नुवाकोट र रसुवामा सञ्चालनमा रहेका जलविद्युत् गृहहरूमा गम्भीर क्षति पुर्याउँदा ४३१ मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ।

बाढीले संरचनाहरूमा क्षति पुर्याएका कारण यी आयोजनाहरू पुनर्निर्माण तथा मर्मत गरी पुनः सञ्चालनमा ल्याउन लामो समय लाग्ने देखिएको छ।

बाढीका कारण नेपालको घरेलु विद्युत् उत्पादन क्षमता खुम्चिएकाले उत्पन्न कठिन परिस्थितिमा राहत पुगोस् भनेर बिजुली उपलब्ध गराइएको भारतीय विद्युत् मन्त्रालयले जनाएको छ।

यस सहयोगले नेपालमा विद्युत् अभाव हुन नदिने र दुई देशबीचको दीर्घकालीन ऊर्जा साझेदारीलाई थप मजबुत बनाउने भारत सरकारले विश्वास व्यक्त गरेको छ।

भदौ ३०, २०८३ मंगलबार ०९:२९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।