अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि
काठमाडौं : कर्णाली शिवराजलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि जितेको छ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा कर्णालीलाई ३-० को सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जित्यो। उपाधिसँगै अन्नपूर्णले २० लाख पुरस्कार राशि प्राप्त गर्यो।
फाइनल खेलमा अन्नपूर्णले एकतर्फी प्रदर्शन गर्यो। उसले पहिलो सेट २५-१५ ले सहजै जित्यो। दोस्रो सेटमा पनि कर्णालीविरुद्ध अन्नपूर्णले पूरा दबाब राख्यो। उसले दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो।
तेस्रो सेट अन्नपूर्णले २५-१८ ले जित्दै इतिहास रच्यो। ऊ अब एनभिएलको पहिलो संस्करणको उपाधि जित्ने टोली बन्यो। नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलो पटक आयोजना गरिएको थियो।
प्रतियोगिताको आयोजकमा केडिया ग्रुप रहेको छ। पहिलो संस्करणको एनभिएलमा छ टोलीको सहभागिता थियो।
भदौ २७, २०८३ शनिबार २३:५२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।