कहिले खुल्छ कृष्णभीरको सडक?
काठमाडौं : त्रिशूली नदीमा आएको बाढी र कटानपछि पृथ्वी राजमार्गको कृष्णभीरमा भासिएको सडक तीन दिनभित्र सञ्चालनमा ल्याउने गरी मर्मत तथा नयाँ ट्रयाक निर्माणको काम तीव्र पारिएको छ।
नागढुङ्गा-मुग्लिङ सडक योजना (पश्चिम खण्ड)का अनुसार सडक भासिएको स्थानमा पहाडको भित्तातर्फबाट करिब २५० मिटर नयाँ अस्थायी ट्रयाक खोलिँदै छ। अहिले उक्त ट्रयाकको ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ।
योजना प्रमुख सजना अधिकारीका अनुसार कटिङको काम लगभग सकिएकाले ग्रेड मिलाउने र ड्रेन बनाउने कार्य भइरहेको छ। ग्रेड मिलाउने काम सकिएलगत्तै ग्राभेल बिछ्याउन सुरु गरिने र त्यसको लागि दुई/तीन दिन लाग्ने अनुमान रहेको उनले बताइन्।
अधिकारीले भनिन्, "ग्रेड मिलाइसकेपछि रोलर थपेर रोलिङको काम सुरु गरिनेछ। सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई-तीन दिन लाग्ने अनुमान छ।" दुई-तीन दिनभित्र कृष्णभीर सडकमा यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ थियो।
दैनिक १० देखि १२ वटासम्म निर्माण उपकरण र करिब दुई दर्जन बढी प्राविधिकसहितको जनशक्ति परिचालन गरेर सडक निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढी र त्यसपछि भदौ १४ गते त्रिशूली नदीको कटानले कृष्णभीरमा सडक खसेपछि देशलाई राजधानी काठमाडौंसँग जोड्ने मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो।
लामो समय सडक बन्द हुँदा काठमाडौं उपत्यकामा इन्धन, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति प्रणाली प्रभावित भएको छ। कृष्णभीर क्षेत्र भौगोलिक रूपमा संवेदनशील रहेकाले अहिले निर्माण भइरहेको नयाँ ट्रयाक पनि फेरि खस्न सक्ने जोखिम रहेकाले विकल्पको खोजी पनि भइरहेको बताइएको छ।
यद्यपि अहिले पहिरो गएको स्थानभन्दा माथिबाट अस्थायी ट्रयाक खोलेर राजमार्ग खुलाउन प्रयास भइरहेकाले ट्रयाक सञ्चालनमा आएपछि आवागमन र आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको छ।
भदौ २७, २०८३ शनिबार १८:४०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।