आसिफको शतकमा नेपालले यूएईलाई दियो ३१४ रनको लक्ष्य

आसिफको शतकमा नेपालले यूएईलाई दियो ३१४ रनको लक्ष्य

काठमाडौं : ओपनर आसिफ शेखको उत्कृष्ट शतकीय इनिङ्स र गुलशन झाको विष्फोटक ब्याटिङको मद्दतले एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सामु जितका लागि ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको बलियो योगफल खडा गर्यो।

नेपाललाई उत्कृष्ट सुरुआत दिलाउने क्रममा ओपनरद्वय आसिफ शेख र अर्जुन कुमालले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरे। संयमित ब्याटिङ गरेका अर्जुन २१औँ ओभरमा रनआउट हुनुअघि ६३ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाए।

त्यसपछि क्रिजमा आएका इशान पाण्डे १३ रनमै पेभेलियन फर्किए पनि आसिफले एकातर्फबाट इनिङ्स सम्हाली राखे।

उत्कृष्ट लयमा देखिएका आसिफले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतले १०२ रनको शतकीय योगदान दिए। उनी ३६औँ ओभरमा हैदर अलीको बलमा क्याच आउट हुन पुगे।

तेस्रो नम्बरमा आएका रोहित पौडेलले पनि उपयोगी इनिङ्स खेल्दै ४४ बलमा २ चौकासहित ४० रन जोडे।

गुलशनको आक्रामक अर्धशतक र बसिरको उत्कृष्ट फिनिसिङ
मध्यक्रममा अलराउन्डर गुलशन झाले आक्रामक ब्याटिङ गर्दै खेलको गति बढाए। उनले मात्र ३८ बलमा ३ चौका र ४ गगनचुम्बी छक्का प्रहार गर्दै ५२ रनको महत्वपूर्ण अर्धशतकीय इनिङ्स खेले।

अन्तिम ओभरहरूमा यूएईका बलरहरूले पुनरागमन गर्दै नेपालका केही विकेट लगातार झारे। दीपेन्द्रसिंह ऐरीले १८ बलमा १८ रन बनाए भने सन्दीप जोरा ७ र करण केसी १ रनमा आउट भए। कप्तान सन्दीप लामिछाने पहिलो बलमै आउट हुन पुगे।

तर, अन्तिममा बसिर अहमदले विस्फोटक रूप देखाउँदै मात्र ४ बलमा २ चौका र १ छक्कासहित अविजित १५ रन जोडेपछि नेपाल ३०० रनको आँकडा पार गर्न सफल भयो। ललित राजवंशी १ रनमा नटआउट रहे।

बलिङतर्फ यूएईका अबरार अहमद सर्वाधिक सफल रहे। उनले ८ ओभरमा ६२ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए। त्यस्तै खुजैमा तनवीरले ९ ओभरमा ६२ रन दिएर २ विकेट हात पारे भने हैदर अली र अदिब उस्मानीले १-१ विकेट लिए।

उपाधि हात पार्न अब यूएईले ५० ओभरमा ३१४ रन बनाउनुपर्नेछ। उपाधि विजेता टोलीले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा सहभागी हुनेछ।

भदौ २७, २०८३ शनिबार ११:०८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।