बाढीपीडितका लागि निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि निजी क्षेत्रले निरन्तर सहयोग गरिरहेको छ।
बाढी प्रभावितहरूलाई राहत पुर्याउने उद्देश्यले विभिन्न व्यापारिक घराना, बैंक, वित्तीय संस्था लगायतले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नुका साथै राहत सामग्री समेत उपलब्ध गराइरहेका छन्।
यशोदा ग्रुप : यशोदा ग्रुप अन्तर्गतको यशोदा फुड्स र श्रीराम टोबाकोले बाढीपीडितको राहत तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड ५१ लाख बढी आर्थिक सहयोग गरेको छ। साथै, प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङका आश्रय स्थलमा रहेका पीडितहरूका लागि करिब ३० लाख बराबरको करेन्ट चाउचाउ समेत प्रत्यक्ष रूपमा वितरण गरेको छ।
आईविइरी अष्ट्रेलिया र प्रभु बैंक
नेपालमा अष्ट्रेलियन ब्रान्ड ‘आईविइरी अष्ट्रेलिया’का उत्पादनहरूको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्सले पनि भोटेकोशी बाढीपीडितका लागि ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ।
त्यस्तै, प्रभु बैंकले पनि रसुवा र नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत सय थान टेन्ट र सय थान स्लिपिङ ब्याग उपलब्ध गरायो। बैंकका तर्फबाट यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड एघार लाख बढी रकम जम्मा गरिसकिएको छ।
सिबिफिन र शाओमी नेपालको सक्रियता
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का सचिव थानेश्वर पौडेलले २५ लाख २५ हजार बढी रकम सहयोग गरेका छन्।
त्यसैगरी, शाओमी नेपालले पनि बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत र उद्धारका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। शाओमीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्रीलाई हस्तान्तरण गर्यो।
भदौ २६, २०८३ शुक्रबार १९:०८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।