प्रधानमन्त्री शाहद्वारा चार उद्योगी-व्यवसायीसँग छलफल
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे देशका शीर्ष उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा जारी छलफलमा चन्द्रप्रसाद ढकाल, विनोद चौधरी, पवन गोल्यान तथा उमेश श्रेष्ठ सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा उद्योग-व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीमैत्री वातावरणको निर्माण, रोजगारी सिर्जना तथा सुस्त रहेको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायहरूबारे गहन कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसैगरी, सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका विद्यमान चुनौती समाधान गर्ने र लगानी विस्तारका लागि नीतिगत सुधार गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ।
भदौ २६, २०८३ शुक्रबार १२:४६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।