एसोसिएट क्रिकेटको ‘एल क्लासिको’, ट्रफीकै लागि चौथो पटक आमनेसामने
काठमाडौं : विश्व फुटबलमा स्पेनका दुई महारथी रियल म्याड्रिड र बार्सिलोना आमनेसामने हुँदा जुनस्तरको तनाव, प्रतिष्ठा र रोमाञ्चकता देखिन्छ, अन्तर्राष्ट्रिय क्रिकेटको एशोसियट जगत्मा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को भिडन्तले ठ्याक्कै त्यस्तै माहोल सिर्जना गर्छ।
त्यसैले त क्रिकेट पण्डितहरू र समर्थकहरूले यी दुई टोलीको भिडन्तलाई निसंकोच ‘एशोसियट क्रिकेटको एल क्लासिको’ भन्ने गर्छन्।
मलेसियाको क्लाङस्थित बायोमास क्रिकेट ओभलमा भइरहेको एसीसी पुरुष प्रिमियर कप २०२६ को फाइनलमा फेरि एकपटक यी दुई चीरप्रतिद्वन्द्वी ट्रफीका लागि आमनेसामने हुँदैछन्।
जारी प्रिमियर कपमा दुवै टोली नकआउट चरणमा आफ्नो समूहबाट उत्कृष्ट बन्दै सेमिफाइलमा समेत विजयी भएर अन्तिम दुईमा पुगेका हुन्। उनीहरू उपाधिका लागि शनिबार भिड्दैछन्।
सेमिफाइनलको कठिन परीक्षामा नेपालले एसोसिएट क्षेत्रको अर्को सशक्त टोली ओमानलाई पाखा लगायो। नेपाली बलरहरूको अनुशासित स्पेल र ब्याटरहरूको परिपक्व साझेदारीका सामु ओमान निस्तेज बनेको थियो।
अर्कोतर्फ, युएईले पनि सेमिफाइनलको दोस्रो खेलमा हङकङविरुद्ध आक्रामक प्रदर्शन गर्दै एकतर्फी जित निकाल्यो र नेपालसँगको महाभिडन्त पक्का गर्यो।
प्रिमियर कपको विजेता टोलीले सन् २०२७ मा बंगलादेशमा हुने एसिया कपमा आफ्नो स्थान बनाउनेछ। त्यसैले पनि यो खेल एकदमै महत्त्वपूर्ण छ।
ती ३ औपचारिक फाइनल
सिनियर पुरुष क्रिकेटको तथ्यांक पल्टाउने हो भने नेपाल र युएईबीच हालसम्म ३ वटा औपचारिक फाइनल खेलहरू भएका छन्। मलेसियामा हुन लागेको यो भिडन्त यी दुई देशबीचको चौथो औपचारिक फाइनल हो।
मे २०२३ मा कीर्तिपुरको त्रि.वि. मैदानमा खेलिएको एसीसी पुरुष प्रिमियर कप २०२३ को फाइनल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा स्वर्णिम क्षणमध्ये एक हो।
वर्षाका कारण रिजर्भ-डे सम्म तानिएको खेलमा नेपाली बलरहरूले युएईलाई ११७ रनमै अलआउट गरे।
जवाफमा १९ वर्षे युवा ब्याटर गुलशन झाको अविजित ६७ रनको परिपक्व पारिको मद्दतले नेपालले ७ विकेटको जित दर्ता गर्दै पहिलो पटक ऐतिहासिक एसिया कपको ढोका खोलेको थियो भने भारत र पाकिस्तानसँग नेपालले पहिलो पटक खेलेको थियो।
अक्टोबर २०२३ मा कीर्तिपुरमै भएको नेपाल टी-२०आई त्रिकोणात्मक श्रृङ्खला २०२३ को फाइनलमा युएईले अघिल्लो हारको बदला लियो।
नेपालले दिएको १६२ रनको लक्ष्य पछ्याएको युएईका लागि अयान अफजल खानले अलराउन्ड प्रदर्शन (३ विकेट र उत्कृष्ट ब्याटिङ) गरेपछि युएईले १९.५ ओभरमा ६ विकेट गुमाएर जित हात पार्दै उपाधि उचाल्यो।
फेब्रुअरी २०१८ मा नामिबियाको विन्डहोकमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को २०१८ फाइनलमा युएईले नेपालसामु २७८ रनको विशाल लक्ष्य राखेको थियो। त्यतिबेलाका कप्तान पारस खड्काले ११२ रनको सानदार शतकीय पारी खेले पनि नेपाल लक्ष्यभन्दा ७ रनले पछाडि पर्दै उपविजेतामै सीमित भएको थियो।
‘फाइनल सरह’का भिडन्त
कतिपय लिग वा समूह चरणका खेलहरू यस्ता हुन्छन् जसको नतिजाले कुनै फाइनल ट्रफीभन्दा ठूलो महत्त्व बोकेको हुन्छ। नेपाल र युएईबीचका केही खेलहरू प्राविधिक रूपमा फाइनल थिएनन्, तर दबाब, उत्साह र नतिजाका हिसाबले ती ‘फाइनल सरह’नै थिए।
२०२३ मार्च १६ मा काठमाडौंको त्रिवि क्रिकेट मैदानमा आईसीसी पुरुष क्रिकेट लिग-२ को अन्तिम खेल थियो। जितले सोझै जिम्बावेमा हुने विश्वकप छनोटमा पुर्याउने, हारले क्वालिफायर प्लेअफको लामो बाटो रोज्नुपर्ने।
युएईका आसिफ खानको ३७ बलमै बनेको तुफानी शतक (१०१*) को मद्दतले युएईले ३१० रनको पहाड खडा गर्यो। ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि भीम सार्की, आरिफ शेख र गुलशन झाको अर्धशतकले खेल जीवितै राख्यो।
खेलको ४४ ओभर सकिँदा मैदानमा अध्यारो छायो। डकवर्थ-लुइस (डीएलएस) नियम अनुसार नेपाल ठ्याक्कै नौ रनले अगाडि थियो। कीर्तिपुरको मैदानमा हजारौँ दर्शकको गर्जनका बीच नेपालले पाएको त्यो जित कुनै पनि विश्वकप फाइनलको खुसीभन्दा कम थिएन।
मलेसियामा भएको एसिया कप छनोट २०१८ को ‘डु अर डाइ’ भिडन्त पनि फाइनल सरहकै खेल थियो। भारत र पाकिस्तान खेलिरहेको एसिया कपमा पुग्नका लागि नेपाललाई युएईविरुद्धको अन्तिम लिग खेल जित्नै पर्ने बाध्यता थियो।
युएईलाई १८८ रनमा रोकेपछि नेपालले वर्षाका कारण ३० ओभरमा १५१ रनको नयाँ लक्ष्य पायो। अन्तिम ओभरसम्म पुगेको यो सातो जाने खेलमा १ बल बाँकी छँदै नेपालले २ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनल यात्रा पक्का गरेको थियो। तर भारत र पाकिस्तानको तनाव र कोरोना महामारीका कारण त्यो वर्ष एसिया कप नै भएन।
जनवरी २८, २०१९ मा दुबईमा भएको तीन खेलको पहिलो ओडीआई शृङ्खला १-१ को बराबरीमा थियो। तेस्रो खेल शृङ्खला कसको पोल्टामा जाने भन्ने निर्णय गर्ने ‘फाइनल सरहको डिसाइडर’ थियो।
युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पारस खड्काले ११५ रन बनाउँदै नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय ओडीआई शतक प्रहार गरे। नेपालले ६ विकेटको जित निकाल्दै इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय ओडीआई शृङ्खला २-१ ले कब्जा गरेको थियो।
चौथो फाइनलको पूर्वसन्ध्या: रणनीति र प्रतिष्ठाको लडाइँ
इतिहास, तथ्याङ्क र विगतका रोमान्चक भिडन्तहरूलाई नियाल्दा नेपाल र युएई दुवै टोली एकअर्काका सामर्थ्य र कमजोरीबारे एक-एक जानकार छन्। नेपालसँग मैदानमा दर्शकको हुटिङ, उत्कृष्ट स्पिन आक्रमण र दबाबमा सम्हालिने टोलीको धैर्यता छ भने युएईसँग पावर-हिटिङ ब्याटर र रणनीतिक तिक्ष्णता छ।
अघिल्लो संस्करणको विजेता नेपाल आफ्नो उपाधि रक्षा गर्दै एसोसिएट क्रिकेटमा आफ्नो एकछत्र राज कायम राख्न चाहन्छ। अर्कोतर्फ युएई अघिल्लो संस्करणको हारको हिसाबकिताब बराबर गर्दै प्रिमियर कपको ट्रफी खोस्ने दाउमा छ।
भदौ २६, २०८३ शुक्रबार ११:०१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।