रियल स्टेट क्षेत्रलाई बेवास्ता गरिए देशको अर्थतन्त्र गम्भीर असर पर्ने व्यवसायीको दाबी

रियल स्टेट क्षेत्रलाई बेवास्ता गरिए देशको अर्थतन्त्र गम्भीर असर पर्ने व्यवसायीको दाबी

काठमाडौं : व्यवसायी दिपक मल्होत्राले रियल स्टेट व्यवसायलाई नीतिगत समस्या र बैंकिङ प्रक्रिया झन्झटिलो हुँदा व्यवसाय चलायमान हुन नसकेको र त्यसको असर सिंगो अर्थतन्त्रमा देखिएको बताए।  

“रियल स्टेटमा आएको कमी कमजोरी अर्थात् व्यवसाय चलायमान नहुँदा सबै क्षेत्रमा चेन इफेक्ट देखिएको छ। घर वा भौतिक संरचना बनाउँदा रड, सिमेन्ट वा अन्य सामग्रीहरूको कारोबार नहुने भएकाले त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको छ” उनले भने।

उनले रियलस्टेट व्यवसायलाई राष्ट्र बैंकले पनि प्राथमिकतामा नराखेको, लोन टु भ्यालु रेसियो ७० प्रतिशत न्यूनतम राख्नुपर्ने सुझाव दिए पनि केही शब्दका कारण कार्यान्वयनमा नआएको बताए।

“कुनै पनि निकायले रियल स्टेटलाई प्राथमिकतामा राखेन,’ उनले भने, “अझै पनि रियल स्टेट क्षेत्रलाई बेवास्ता गरिए सिंगो देशको अर्थतन्त्र गम्भीर असर पर्नेछ।”

आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’को पूर्व सन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले घरजग्गामा लागू गरिएको हदबन्दीका कारण व्यवसायीहरू ठूलो मारमा परेको उल्लेख गर्दै सरकारले आश्वासन मात्र दिएको बताए।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुकुमार घिमिरेले महाविपत्तिपछि क्षतिग्रस्त भएका घरहरूको पुनः निर्माणमा आधुनिक प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गर्दै सरकारले रियल स्टेट क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताए।

भदौ २५, २०८३ बिहीबार २१:१९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।