ग्यास विवाद चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

ग्यास विवाद चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसमक्ष आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।

खाना पकाउने एलपि ग्यासको चरम संकट र संसदीय समितिमा निजी ग्यास उद्योगीहरूविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिका कारण चौतर्फी आलोचना भइरहेका बेला मन्त्री यादवको राजीनामा आएको हो।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले निजी ग्यास उद्योगीहरूले राज्यलाई अटेरी गरेको र कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाएकी थिइन्।

उनले देशमा सञ्चालित सबै ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने र काठमाडौं पठाइएका सिलिन्डर बाटैबाट गायब हुने गरेको आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन्।

मन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक भएलगत्तै बिहीबार बिहान एल.पि. ग्यास उद्योग संघ नेपालले कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको थियो।

संघले सरकारले आफ्नो असक्षमता लुकाउन र पानीमाथिको ओभानो बन्न गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्रीको आलोचना गरेको थियो।

बजारमा ग्यासको चरम अभाव कायमै रहेको अवस्थामा मन्त्रीबाटै समस्या समाधान गर्नुको साटो उत्तेजक अभिव्यक्ति आएको भन्दै नागरिक तथा राजनीतिक वृत्तबाट समेत उनीमाथि चर्को दबाब परेको थियो।

सोही दबाब र विवादका बीच मन्त्री यादवले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको हो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्री यादवको राजीनामा पत्र आजै बस्ने मन्त्रिपरिषद् बैठकमार्फत स्वीकृत गर्ने प्रक्रिया अघि बढाइनेछ।

भदौ २५, २०८३ बिहीबार १३:४८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।