नेपाल १४७ रनमै अलआउट, १८ रन जोड्दा गुमे अन्तिम ६ विकेट
काठमाडौं : एसिसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानलाई जितका लागि १४८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल शीर्ष र तल्लो क्रमका ब्याटरहरू चल्न नसक्दा ४५.४ ओभरमा मात्र १४७ रनमा समेटियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले इनिङ्स सम्हाल्दै सम्मानजनक योगफलतर्फ डोहोर्याउने प्रयास गरेका थिए।
३६ रन जोड्दा ४ विकेट गुमाएर गम्भीर संकटमा परेको नेपाललाई यी दुईले पाँचौँ विकेटका लागि ९३ रनको महत्त्वपूर्ण साझेदारी गर्दै खेलमा फर्काएका थिए।
दीपेन्द्रले ७६ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक ५१ रनको अर्धशतकीय योगदान दिए। यस्तै, धैर्यपूर्ण इनिङ्स खेलेका बसिरले ८८ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४७ रन बनाए।
१८ रन जोड्दा गुमे अन्तिम ६ विकेट
३६औँ ओभरमा बसिर र ३८औँ ओभरमा अर्धशतक प्रहार गरेलगत्तै दीपेन्द्र आउट भएपछि नेपालको इनिङ्स फेरि तासको घरझैँ ढल्यो। नेपालले आफ्ना अन्तिम ६ विकेट केवल १८ रन जोड्दा गुमाउन पुग्यो।
यसअघि सुरुवाती ब्याटिङमा देव खनाल १३ र आसिफ शेख ११ रन बनाएर आउट भएका थिए। त्यसपछि आएका इशान पाण्डे (१) र रोहित पौडेल (३) सस्तैमा पेभेलियन फर्किएपछि नेपालले ११.२ ओभरमै ४ विकेट गुमाइसकेको थियो।
तल्लो क्रममा गुल्शन झा (७), करण केसी (५), कप्तान सन्दीप लामिछाने (३) र आजकै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मा डेब्यु गरेका शेर मल्ल शून्य रनमै आउट भए। ललित राजवंशी शून्य रनमा अविजित रहे।
ओमानको कसिलो बलिङ
ओमानका बलरहरूले सुरुदेखि नै कसिलो बलिङ गर्दै नेपाली ब्याटरहरूलाई दबाबमा राखेका थिए।
ओमानका लागि जय ओडेद्राले १० ओभरमा १ मेडनसहित २६ रन खर्चेर ३ विकेट लिए भने हसनैन शाहले ८.४ ओभरमा २८ रन खर्चेर ३ विकेट झारे। यस्तै, मोहम्मद इमरानले २ तथा मुजिबुर अली र सकिल अहमदले १-१ विकेट हात पारे।
अब ओमानले फाइनल यात्रा तय गर्न ५० ओभरमा १४८ रन बनाउनुपर्नेछ।
भदौ २५, २०८३ बिहीबार १०:३२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।