एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले टस हार्यो

एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले टस हार्यो

काठमाडौं : एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको सेमिफाइनलमा आज नेपाली राष्ट्रिय पुरुष टोलीले ओमानको सामना गर्दैछ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ।

समूह ‘ए’ को विजेता बनेको नेपाल फाइनल पुग्ने लक्ष्यसहित समूह ‘बी’ को उपविजेता ओमानविरुद्ध मैदान उत्रिन लागेको हो।

समूह चरणमा तीन खेल जित्दै नेपालले अन्तिम चारमा स्थान बनाएको थियो। नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई हराए पनि हङकङसँग भने हार बेहोरेको थियो।

समूह चरणको नतिजा नेपालका लागि समग्रमा सन्तोषजनक रहे पनि ब्याटिङ पक्ष भने अझै चिन्ताको विषय बनेको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा नेपाल र ओमानबीच हालसम्म १० पटक प्रतिस्पर्धा भएको छ। जसमा ओमान केही बलियो देखिएको छ। ओमानले ६ खेल जित्दा नेपालले ४ खेल आफ्नो पक्षमा पारेको छ।

यद्यपि, यी दुईबीचको पछिल्लो नतिजा भने नेपालको पक्षमा छ। गत मे महिनामा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले ओमानमाथि ८१ रनको सानदार जित निकालेको थियो।

नेपाल आज पनि सोही लय दोहोर्याउँदै ओमानलाई पन्छाएर फाइनलमा स्थान सुरक्षित गर्ने योजनामा छ।

भदौ २५, २०८३ बिहीबार ०७:१३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।