एसीसी प्रिमियर कप : समूह विजेता बन्ने लक्ष्यसहित नेपाल आज हङकङसँग भिड्दै

एसीसी प्रिमियर कप : समूह विजेता बन्ने लक्ष्यसहित नेपाल आज हङकङसँग भिड्दै

काठमाडौं : मलेसियामा जारी ‘एसिसी प्रिमियर कप २०२६’ को समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङको सामना गरिरहेको छ।

क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा भइरहेको खेलमा हङकङले टस जितेर पहिला ब्याटिङ रोजेको छ।

लगातार चौथो जित निकाल्दै समूह ‘ए’ को विजेता बनेर सेमिफाइनल प्रवेश गर्ने नेपालको मुख्य लक्ष्य छ। उत्कृष्ट लयमा रहेको नेपाली टोली यसअघिका तीनवटै खेल जितेर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट, दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो।

बलिङ र ब्याटिङ दुवैतर्फ सन्तुलित देखिएको नेपाल आज पनि सोही लयलाई निरन्तरता दिँदै हङकङमाथि हाबी हुने रणनीतिमा छ।

उता, हङकङका लागि पनि यो खेल महत्त्वपूर्ण छ। तीन खेलबाट दुई जित र एक हारसहित चार अंक जोडेको हङकङ समूहको दोस्रो स्थानमा छ। सेमिफाइनल सम्भावना बलियो बनाउन हङकङलाई पनि आज जित्नैपर्ने दबाब छ।

हेड-टु-हेड : आठ वर्षपछि एकदिवसीयमा आमनेसामने
एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटको इतिहासमा यी दुई टोली हालसम्म चारपटक मात्र आमनेसामने भएका छन्।

जसमा हङकङ दुई खेलमा विजयी हुँदा नेपालले एक खेल आफ्नो पक्षमा पारेको छ भने एउटा खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो।

नेपाल र हङकङ पछिल्लोपटक सन् २०१८ को विश्वकप क्वालिफायरमा एकदिवसीय फर्म्याटमा भिडेका थिए।

जिम्बावेमा भएको उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले स्तब्ध बनाएको थियो। नेपाली टोली आज आठ वर्षपछि सोही नतिजा दोहोर्याउँदै समूह चरणमा अपराजित यात्रा कायम राख्ने दाउमा हुनेछ।

भदौ २३, २०८३ मंगलबार ०७:३८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।