मेसीको सन्यासपछि अर्जेन्टिनामा विशेष सम्मान : हरेक खेलको १०औँ मिनेटमा १ मिनेट ताली बजाइने

मेसीको सन्यासपछि अर्जेन्टिनामा विशेष सम्मान : हरेक खेलको १०औँ मिनेटमा १ मिनेट ताली बजाइने

काठमाडौं : अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेपछि उनको सम्मानमा यस साता हुने अर्जेन्टिनाका सबै घरेलु फुटबल प्रतियोगिताहरूको १०औँ मिनेटमा एक मिनेटका लागि खेल रोकिने भएको छ।

अर्जेन्टिना फुटबल संघ (एएफए) को निर्णयअनुसार, यस साता आयोजना हुने पुरुष तथा महिलाका सबै डिभिजन र उमेर समूहका खेलहरूको पहिलो हाफको १०औँ मिनेटमा एक मिनेटका लागि खेल रोकेर मेसीको सम्मानमा ताली बजाइने छ।

मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट २१ वर्षसम्म १० नम्बरको जर्सी लगाएर खेलेका थिए। सोही १० नम्बर जर्सीको सम्मानस्वरूप १०औँ मिनेटमा यो विशेष कार्यक्रम गर्न लागिएको हो। यसका साथै, भिडियो स्क्रिन सुविधा भएका रङ्गशालाहरूमा खेल सुरु हुनुअघि एएफएले तयार पारेको ट्रिब्युट भिडियो समेत प्रदर्शन गरिनेछ।

यो सम्मान कार्यक्रमको सुरुआत बुधबार राति ब्युनस आयर्समा भएको कोपा अर्जेन्टिना अन्तर्गत भेलेस सार्सफिल्ड र बोका जुनियर्सबीचको खेलबाट भइसकेको छ। खेलको १०औँ मिनेटमा रेफ्रीले खेल रोकेपछि रङ्गशालामा उपस्थित दर्शक, खेलाडी र अधिकारीहरूले उठेर मेसीको सम्मानमा एक मिनेट ताली बजाएका थिए।

उक्त समयमा मेस्सी स्वयम् रङ्गशालामा उपस्थित थिएनन्; उनी अमेरिकाको फ्लोरिडास्थित फोर्ट लाउडरडेलमा थिए। तर, अबदेखि अर्जेन्टिनाका हरेक रङ्गशालामा १०औँ मिनेट मेस्सीको २१ वर्षको राष्ट्रिय टोली यात्राप्रतिको सम्मानमा ६० सेकेन्डको तालीमा गुञ्जिनेछ।

रंगशालामा खेल सुरु हुनुअघि मेसीको राष्ट्रिय टोलीसँगको यात्रालाई समेटिएको करिब दुई मिनेट लामो विशेष भिडियोसमेत प्रदर्शन गरिएको थियो। भिडियोमा मेस्सीको अर्जेन्टिनाको ‘अल्बिसेलेस्टे’ यात्राका विभिन्न क्षण समेटिएका थिए।

भिडियोको अन्त्यमा "यो सिल्डको पछाडि सम्पूर्ण देशलाई एकजुट गराएकोमा धन्यवाद। हामी तपाईंलाई सम्झिरहनेछौँ" भन्ने सन्देश राखिएको थियो।

एएफएले मेस्सीको सम्मानमा जारी गरेको आधिकारिक वक्तव्यमा भनेको छ, "हाम्रो जीवनको सबैभन्दा सुन्दर यात्राका लागि धन्यवाद। तपाईंको विरासत र व्यावसायिकता हाम्रो हृदयमा सधैँ अङ्कित रहनेछ। धन्यवाद, कप्तान। हामी तपाईंलाई माया गर्छौँ।"

इन्स्टाग्राममार्फत सन्यासको घोषणा

३९ वर्षका मेस्सीले गत सोमबार आफ्नो इन्स्टाग्राममा स्पेनिस भाषामा लेखिएको हस्तलिखित पत्रको तस्बिर सेयर गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका थिए। सन् २०२६ को फिफा विश्वकपको फाइनलमा स्पेनसँग पराजित भएपछि नै उनले यो निर्णय लिएका थिए।

मेसीले पत्रमा लेखेका छन्, "गहिरो मनबाट यो निर्णय लिन निकै गाह्रो भयो र अझै पनि दुखिरहेको छ, तर समय आएको कुरा मैले बुझेको छु। मैले मेरो सबै थोक दिएँ; अब मसँग दिनका लागि केही बाँकी छैन।"  

मेसीको ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रा र कीर्तिमान डेब्यु

सन् २००५ मा अर्जेन्टिनाको सिनियर टोलीबाट डेब्यु गरेका उनले राष्ट्रिय टोलीका लागि २०७ खेल खेल्दै १२५ गोल गरेका छन्। दुवै संख्या अर्जेन्टिनाको राष्ट्रिय टोलीका कीर्तिमान हुन्।

मेसीले २००६ देखि २०२६ सम्म लगातार ६ वटा विश्वकप खेलेका छन्। विश्वकपको इतिहासमा सबैभन्दा धेरै ३४ खेल खेल्ने, सर्वाधिक २३ जित निकाल्ने र २१ गोल गर्ने कीर्तिमानसमेत मेस्सीकै नाममा छ।

उनले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग पराजय बेहोरेका थिए भने सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग हार व्यहोरेका थिए। तर सन् २०२१ मा कोपा अमेरिका जित्दै उनले अर्जेन्टिनालाई २८ वर्षपछि प्रमुख अन्तर्राष्ट्रिय उपाधि दिलाए।

लामो पर्खाइ र विगतका आलोचनाहरूलाई पछाडि पार्दै सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउँदै आफ्नो करियरको सबैभन्दा ठूलो सफलता हात पारे। फ्रान्सविरुद्धको विश्वकप फाइनलमा मेसीले दुई गोल गरेका थिए। अतिरिक्त समयपछि खेल ३–३ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पनि उनले गोल गरे। अर्जेन्टिनाले पेनाल्टीमा ४–२ को जित निकाल्दै विश्वकप उचालेको थियो।

त्यसपछि अर्जेन्टिनाले सन् २०२४ मा कोपा अमेरिका उपाधि रक्षा गर्दै मेसीको नेतृत्वमा अर्को ठूलो अन्तर्राष्ट्रिय सफलता हासिल गर्यो । मेसीको विश्वकप यात्रा सन् २००६ देखि २०२६ सम्मका छ संस्करणसम्म फैलिएको थियो। उनले विश्वकपमा ३४ खेलबाट २१ गोल गरेका छन्।

सन् २०२६ को विश्वकपमा उनले आठ गोल र चार असिस्ट गरेका थिए । सोही प्रतियोगितामा उनले अल्जेरियाविरुद्ध पहिलो विश्वकप ह्याट्रिकसमेत गरेका थिए। आठपटक बालोन डी’ओर जितिसकेका मेसीले राष्ट्रिय टोलीबाट संन्यास लिए पनि क्लब फुटबल भने जारी राख्नेछन्। उनी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट खेलिरहेका छन्।

भदौ २१, २०८३ आइतबार १३:५७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।