बेलायती कीर्तिमानी १२ करोड ५० लाख पाउन्डमा एन्जो फर्नान्डेज म्यानचेस्टर सिटीमा

बेलायती कीर्तिमानी १२ करोड ५० लाख पाउन्डमा एन्जो फर्नान्डेज म्यानचेस्टर सिटीमा

लन्डन : म्यानचेस्टर सिटीले चेल्सीका अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई १२ करोड ५० लाख पाउन्डमा अनुबन्ध गरेको छ। २५ वर्षीय फर्नान्डेजलाई भित्र्याउन दुई क्लबबीच मंगलबार सहमति जुटेको हो।

यो अनुबन्धसँगै म्यानचेस्टर सिटीले एकै समर ट्रान्सफर विन्डोमा खेलाडी खरिदमा प्रिमियर लिग इतिहासकै सर्वाधिक ४५ करोड ८० लाख पाउन्ड खर्च गर्ने कीर्तिमान बनाएको छ। यसअघि गत समरमा लिभरपुलले ४१ करोड ५० लाख पाउन्ड खर्च गरेको थियो।

सिटीमा अनुबन्ध भएपछि फर्नान्डेजले भने, ’सफलताका लागि बनेको क्लब म्यानचेस्टर सिटीमा आउन पाउँदा निकै खुसी छु। टोलीलाई थप उपाधि दिलाउन म तयार छु र यहाँ आफ्नो शतप्रतिशत दिनेछु।’

फर्नान्डेजले चेल्सीमा आफूलाई प्रशिक्षण दिइसकेका प्रशिक्षक एन्जो मारेस्कासँग सिटीमा पुनः सहकार्य गर्नेछन्।

यसअघि क्लब छाड्न चाहेको भन्दै चेल्सीका समर्थकहरूको चर्को आलोचना र हुटिङ खेपेका फर्नान्डेजले सामाजिक सञ्जालमार्फत चेल्सीप्रति भावुक बिदाइ पत्र लेख्दै विगतका दिनहरू आफ्ना लागि सहज नरहेको उल्लेख गरेका छन्।

फर्नान्डेजको बहिर्गमनसँगै चेल्सीले पनि खेलाडी बिक्रीबाट एकै विन्डोमा कीर्तिमानी ४० करोड पाउन्डभन्दा बढी आम्दानी गरेको छ। निकोलस ज्याक्सन र लियाम डेलापजस्ता खेलाडी बेचेको चेल्सीका लागि फर्नान्डेजको यो बिक्री क्लब इतिहासकै दोस्रो ठूलो हो।

अर्कोतर्फ, ठूलो रकम खर्चिए पनि सिटीले रोड्री, बर्नान्डो सिल्भा र साभियोसहितका खेलाडी बिक्री गरेर यसै समरमा करिब ३० करोड पाउन्ड आम्दानी समेत गरिसकेको छ।

भदौ १७, २०८३ बुधबार ०७:४८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।