भिक्टोरियासँग नेपाल एक विकेटले पराजित

भिक्टोरियासँग नेपाल एक विकेटले पराजित

काठमाडौं : अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत भिक्टोरिया सिए-११ सँग नेपाल एक विकेटले पराजित भयो।

शनिबार सम्पन्न आफ्नो छैटौँ खेलमा नेपालले दिएको १४३ रनको लक्ष्य भिक्टोरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो। उसका लागि टम  रोजर्सले २१ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रन बनाए। 

नेपालका लागि बलिङतर्फ कुशल भुर्तेल र युवराज खत्रीले २/२ तथा आकाश चन्दले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनायो। नेपालका लागि कुशल भुर्तेलले सानदार पारी खेले। उनले ५६ बलमा छ चौका र पाँच छक्कासहित अविजित ९० रनको पारी खेलेका हुन्।

जारी प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतकीय इनिङ हो। यस्तै, शनिबार दीपक डुम्रेले १६ रन जोडे। बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन्। भिक्टोरियाका लागि कलुम स्टो र ह्यारी होकेत्राले सर्वाधिक २/२ विकेट लिए।

यसपालि प्रतियोगितामा ६ खेल खेलेको नेपालले चार खेलमा हार तथा दुई खेलमा जित दर्ता गर्यो। नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा दोस्रो खेलमा बङ्गलादेश हाइपरफर्मेन्स-११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो।

यस्तै, नेपालले तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रन तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई चार विकेटले हराएको थियो। पाँचौं खेलमा भने नेपाली टोली हैदरावाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रनले पराजित भएको थियो।  

भदौ १३, २०८३ शनिबार १७:४०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।