न्युजिल्यान्डका अपराजित फाइटरलाई हराउँदै ‘रोड टु यूएफसी’को फाइनलमा पुगे रवीन्द्र

न्युजिल्यान्डका अपराजित फाइटरलाई हराउँदै ‘रोड टु यूएफसी’को फाइनलमा पुगे रवीन्द्र

काठमाडौं : नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट चीनको साङ्घाईमा जारी ‘रोड टु यूएफसी’ सिजन-५ को फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार साङ्घाई इन्डोर रङ्गशालामा सम्पन्न बान्टमवेट विधाको सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गरे।

उनी यस प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बने। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा रवीन्द्रले मर्डोकलाई ‘स्प्लिट डिसिजन’का आधारमा हराए। यो हारसँगै मर्डोकको आठ खेलसम्मको अपराजित यात्रामा समेत पूर्णविराम लाग्यो।

'बझाङ्गी बाघ' उपनामले परिचित रवीन्द्रले अब उपाधिका लागि जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले अर्को सेमिफाइनलमा भारतका चुङ्गरेन कोरेनलाई ‘युनानिमस डिसिजन’का आधारमा पराजित गरे।

अन्तिम प्रतिस्पर्धामा जित हात पारेमा रवीन्द्रले विश्वकै प्रतिष्ठित एमएमए संस्था अल्ट्रा फाइटिङ च्याम्पियनसिप (यूएफसी) सँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्। यसअघि रवीन्द्रले गत मे महिनामा मकाउमा भएको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गरेका थिए। 

व्यावसायिक एमएमए करिअरमा ११ खेलमध्ये १० मा जित निकालेका उनले यसअघि भारतको चर्चित 'म्याट्रिक्स फाइट नाइट'को उपाधि जितेपछि चर्चामा आएका थिए। यो उपाधि जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्। रोड टु यूएफसीको फाइनलमा प्रवेश गरेपछि प्रतिक्रिया दिँदै रवीन्द्रले नेपाल अहिले कठिन परिस्थितिमा रहे पनि नेपालीहरू पुनः उठ्ने विश्वास व्यक्त गरे। 

भदौ १२, २०८३ शुक्रबार १८:०६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।