नुवाकोटमा बाढी प्रभावितका लागि १२ अस्थायी शिविर सञ्चालन
नुवाकोट : भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न नुवाकोटका विभिन्न स्थानीय तहमा १२ वटा अस्थायी शिविर सञ्चालनमा ल्याइएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढी प्रभावितको तत्कालीन बसोबास व्यवस्थापन तथा राहत वितरणलाई सहज बनाउन विभिन्न विद्यालय, सामुदायिक भवन, कभर्ड हल र अन्य सार्वजनिक संरचनालाई अस्थायी शिविरका रूपमा प्रयोगमा ल्याएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।
यही भदौ १० गते त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिकाका विभिन्न स्थानमा बाढीपीडितका लागि अस्थायी शिविर सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। विदुर नगरपालिकाअन्तर्गत विदुर-७ तुप्चे क्षेत्रमा रहेको पुस्तकालयलाई अस्थायी शिविरका रूपमा प्रयोग गरिएको छ। उक्त शिविरमा करिब २०० जनासम्मलाई व्यवस्थापन गर्न सकिने जनाइएको छ।
यस्तै, विदुर-१ त्रिशूली-ढुङ्गे क्षेत्र तथा विदुर-४ सिमचौरमा रहेको सेफहाउस/क्रियापुत्री भवनमा पनि प्रभावितलाई राख्ने व्यवस्था गरिएको छ। सो शिविरमा करिब १०० जनासम्म बसोबास व्यवस्थापन गर्न सकिने र हाल १६२ जना रहेको जनाइएको छ। विदुर-४ बट्टार क्षेत्रमा रहेको कभर्ड हललाई पनि अस्थायी शिविरका रूपमा सञ्चालन गरिएको छ। उक्त स्थानमा करिब २०० जनासम्मलाई व्यवस्थापन गर्न सकिनेछ।
त्यसैगरी, विदुर-५ देवीघाट क्षेत्रमा रहेको आयुर्वेद वैकल्पिक चिकित्सालय तथा विदुर-१० बेत्रावती-भैँसे क्षेत्रमा रहेको सुन्दरी क्यौरिनी माध्यमिक विद्यालयलाई पनि प्रभावितको अस्थायी बसोबासका लागि प्रयोग गरिएको छ। सुन्दरी क्यौरिनी माविमा ३०० जनासम्म बस्न सक्ने क्षमता रहेकामा हाल २५३ जना रहेको जनाइएको छ।
विदुर नगरपालिका-१ त्रिशूली बजार क्षेत्रमा रहेको कोलोनी कभर्ड हलमा पनि अस्थायी शिविर सञ्चालनमा ल्याइएको छ। यस्तै, विदुर-३ देविघाट सिटखाली क्षेत्रमा रहेको रणभुवनेश्वरी माध्यमिक विद्यालय तथा वडा कार्यालयलाई अस्थायी शिविरका रूपमा प्रयोग गरिएको छ। उक्त स्थानमा करिब ३०० जनासम्म व्यवस्थापन गर्न सकिनेमा हाल ४५० जना बसोबास गरिरहेका छन्।
त्यसैगरी, बेलकोटगढी नगरपालिकाअन्तर्गत रातमाटे-जिलिङ क्षेत्रमा रहेको महादेव माध्यमिक विद्यालयलाई पनि बाढी प्रभावितको अस्थायी बसोबासका लागि प्रयोग गरिएको छ। उक्त शिविरमा करिब २०० जनासम्मलाई व्यवस्थापन गर्न सकिने व्यवस्था गरिएको छ।
विदुर नगरपालिका-९ मा रहेको त्रिशूली आधारभूत विद्यालयमा पनि अस्थायी शिविर सञ्चालन गरिएको छ। उक्त शिविरमा करिब १०० जनासम्म बस्न सक्ने क्षमता रहेकोमा हाल ३५ जना रहेको छन्। सोही वडामा रहेको सुलक्षणा माध्यमिक विद्यालयमा पनि प्रभावितका लागि शिविर सञ्चालन गरिएको छ। त्यहाँ करिब १०० जनासम्मलाई व्यवस्थापन गर्न सकिने र हाल २० जना रहेको जनाइएको छ।
किस्पाङ गाउँपालिका-५ कार्कीगाउँस्थित कार्की मनकामना आधारभूत विद्यालयमा पनि बाढी प्रभावितलाई राख्ने व्यवस्था गरिएको छ। उक्त शिविरमा करिब ८० जनासम्मलाई व्यवस्थापन गर्न सकिनेछ। त्यस्तै, किस्पाङ-५ अर्चलेस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई पनि अस्थायी शिविरका रूपमा सञ्चालनमा ल्याइएको छ। सो विद्यालयमा करिब २०० जनासम्मलाई बसोबास गराउन सकिने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार अस्थायी शिविरमा प्रभावितको बसोबास व्यवस्थापनसँगै राहत वितरण, आवश्यक समन्वय र उद्धारपछिको व्यवस्थापनका कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ। प्रभावितको अवस्था र आवश्यकताका आधारमा थप व्यवस्थापन गरिने जनाइएको छ।
राहत व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले विभिन्न कर्मचारीलाई फोकल पर्सनका रूपमा जिम्मेवारी तोकेको छ। प्रशासनिक अधिकृत रूपेशप्रसाद नेपाल, प्रशासनिक अधिकृत सावित्रा भण्डारी, नायब सुब्बा पवन भट्टराई र नायब सुब्बा कृष्णकुमार नेपाललाई राहत व्यवस्थापन तथा समन्वयको जिम्मेवारी दिइएको छ।
बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायबीच समन्वय भइरहेको छ। शिविरमा रहेका प्रभावितको सङ्ख्या, बसोबासको अवस्था र आवश्यकताका आधारमा राहत तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन गर्ने तयारी गरिएको छ।
भदौ १२, २०८३ शुक्रबार १६:१८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।