दोस्रो अभ्यास खेलमा मलेसिया २७ रनले पराजित, नेपालको लगातार दोस्रो जित

दोस्रो अभ्यास खेलमा मलेसिया २७ रनले पराजित, नेपालको लगातार दोस्रो जित

काठमाडौं : मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले बिहीबार जित निकाल्यो। उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्धको खेलमा २७ रनको जित निकाल्न सफल भयो। 

नेपालले पहिलो खेलमा मलेसियालाई नौ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको मलेसियाको पारी ४०.१ ओभरमा एक सय ४१ रनमा समेटियो।

मलेसियाका लागि अकिल वाहिदले १०८ बलमा ६ चौकासहित सर्वाधिक ५६ रन बनाए। बलिङतर्फ नेपालका लागि ललितनारायण राजवंशीले तीन, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले दुई/दुई तथा हेमन्त धामीले एक विकेट लिए।

त्यसअघि सेलानगोर क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४१.४ ओभरमा सबै विकेट गुमाएर एक सय ७० रन बनायो। नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले। उनले ८६ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ६१ रन बनाए। 

यस्तै, गुलशनकुमार झाले ६० बलमा चार चौका र तीन छक्कासहित ४५ रन बनाए। सन्दीप लामिछानेले १३ तथा आसिफ शेख र अर्जुन कुमालले समान १०-१० रन जोडे। बलिङतर्फ मलेसियाका लागि अकील वाहिदले चार ओभरमा ३६ रन खर्चेर चार विकेट लिए।

नेपाल र मलेसियाले एसिसी प्रिमियर कपको तयारी स्वरूप अभ्यास खेलमा प्रतिस्पर्धा गरेका हुन्। आसन्न संस्करणको प्रिमियर कप यही भदौ १४ गतेदेखि मलेसियामा आयोजना हुँदैछ। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। समूह चरणमा नेपालले बहराइन, मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध खेल्नेछ। नेपालले पहिलो खेल यही भदौ १५ गते खेल्ने छ।

भदौ ११, २०८३ बिहीबार १५:०२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।