काठमाडौंका अस्पतालमा खाली बेडको विवरण संकलन, एम्बुलेन्स र स्वास्थ्य सामग्री तयारी अवस्थामा

काठमाडौंका अस्पतालमा खाली बेडको विवरण संकलन, एम्बुलेन्स र स्वास्थ्य सामग्री तयारी अवस्थामा

काठमाडौं : सम्भावित विपद् तथा आपत्कालीन परिस्थितिलाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचइओसी) लाई सक्रिय बनाएको छ।

आपत्कालीन स्वास्थ्य सेवा, घाइतेहरूको उद्धार तथा उपचारलाई छिटो र प्रभावकारी बनाउन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका निकायहरूसँग एकीकृत समन्वय अगाडि बढाएको हो।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताका अनुसार काठमाडौंका प्रमुख अस्पतालहरूमा उपलब्ध खाली बेडको विवरण संकलन र अद्यावधिक गरी बिरामी व्यवस्थापनको पूर्ण तयारी गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै एम्बुलेन्स सेवा तथा आवश्यक स्वास्थ्य सामग्री र उपकरणलाई तयारी अवस्थामा राखिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आपत्कालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौंस्थित सङ्घीय अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको जानकारी दिइन्।

मन्त्री मेहताले आपत्कालीन स्वास्थ्यसम्बन्धी सहयोग, सूचना तथा समन्वय आवश्यक परे मन्त्रालयको हेल्पलाइन एक हजार ११५ मा सम्पर्क गर्न आग्रह गरेकी छन्।

भदौ १०, २०८३ बुधबार १४:००:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।