नाइटक्लब विवादमा मुछिए इङ्गल्यान्डका बलर ब्राइडन कार्स, हत्कडी लागेको भिडियो सार्वजनिक भएपछि इसिबीद्वारा छानबिन सुरु
लण्डन : इङ्गल्यान्डका तीव्र गतिका बलर ब्राइडन कार्स नाइटक्लबमा भएको एक विवादमा मुछिएपछि उनीमाथि छानबिन सुरु भएको छ।
शनिबार राति डर्बीस्थित एक नाइटक्लबमा भएको घटनालाई लिएर इङ्गल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले अनुसन्धान थालेको पुष्टि गरेको हो।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा कार्सलाई हतकडी लगाएर चार जना प्रहरी अधिकारीहरूले नाइटक्लबबाट बाहिर लैजाँदै गरेको देखिन्छ।
पाकिस्तानविरुद्ध यसै साता हुने दोस्रो टेस्ट खेलका लागि घोषित इङ्गल्यान्डको टोलीमा रहेका कार्स सोमबार टिमसँग जोडिने तालिका थियो। घटना हुँदा उनी राष्ट्रिय टोलीको नियमित ड्युटीमा भने थिएनन्।
उक्त स्थानमा कार्ससँगै उनका सहखेलाडी म्याथ्यु पोट्स र पूर्वकप्तान बेन स्टोक्स पनि सँगै देखिएका थिए।
घटनाबारे विज्ञप्ति जारी गर्दै इसिबीले भनेको छ, ‘डर्बीमा शनिबार राति भएको भनिएको घटनाबारे हामी जानकार छौँ र यस विषयमा हाल अनुसन्धान भइरहेको छ। सम्भव भएसम्म हामी चाँडै थप जानकारी उपलब्ध गराउनेछौँ।’
कप्तान रुटको आग्रहलगत्तै घटना
कप्तानका रूपमा आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै जो रुटले खेलाडीहरूलाई ‘राम्रो रोल मोडल र असल मानिस’ बन्न आग्रह गरेको पाँच दिनपछि नै यो घटना बाहिर आएको हो। रुटले खेलाडीहरूलाई मैदानबाहिर अनुशासित रहन आग्रह गरेका थिए।
इङ्गल्यान्ड टोली लामो समयदेखि मैदानबाहिरका विभिन्न विवादका कारण अस्थिरताबाट गुज्रिरहेको छ। खेलाडीहरूको अनुशासनहीनताकै कारण पूर्वकप्तान बेन स्टोक्सले अप्रत्याशित संन्यास लिनुका साथै मुख्य प्रशिक्षक ब्रेन्डन म्याकुलम बर्खास्तगीमा परेका थिए।
चाखलाग्दो कुरा के छ भने, जो रुटले कप्तान बनेलगत्तै खेलाडीहरूमाथि जनवरीदेखि लगाइएको राति बाहिर निस्कन नपाउने नियम हटाइदिएका थिए।
यसअघि पनि विवादमा परेका २९ वर्षीय बलर कार्सलाई सन् २०२४ मा क्रिकेटमा बेटिङ गरेको अभियोगमा तीन महिनाको प्रतिबन्ध लगाइएको थियो। उनले २०१७ देखि २०१९ को बीचमा विभिन्न खेलहरूमा ३०३ पटक सट्टाबाजी गरेको पुष्टि भएको थियो।
भदौ ८, २०८३ सोमबार १३:५५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।