फिफा अध्यक्षको दौडबाट बाहिरिए युइएफए अध्यक्ष सेफेरिन, इन्फान्टिनोविरुद्ध नयाँ उम्मेदवार आउने दाबी

फिफा अध्यक्षको दौडबाट बाहिरिए युइएफए अध्यक्ष सेफेरिन, इन्फान्टिनोविरुद्ध नयाँ उम्मेदवार आउने दाबी

एजेन्सी : युरोपेली फुटबल महासंघका अध्यक्ष अलेक्जेन्डर सेफेरिनले आफू विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को अध्यक्ष पदमा चुनाव नलड्ने स्पष्ट पारेका छन्।

यद्यपि, उनले आगामी चुनावमा वर्तमान फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई चुनौती दिन नयाँ उम्मेदवार खडा हुने दाबी गरेका छन्।

फिफाका प्रतियोगिताहरूको व्यावसायिक र टिकट अधिकारको २१ प्रतिशत हिस्सा प्राइभेट (निजी) कम्पनीलाई बेच्ने इन्फान्टिनोको विवादास्पद योजनाको युइएफएले कडा विरोध गरेको थियो।

युरोपेली देशहरूले विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनो उक्त योजना रद्द गर्न बाध्य भएका थिए।

५७ वर्षीय सेफेरिनलाई इन्फान्टिनोको बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको थियो। तर, उनले अध्यक्षमा नउठ्ने दुईवटा कारण दिएका छन्।

‘पहिलो, मलाई युइएफए निकै मनपर्छ र म आफ्नो जीवनको पनि मज्जा लिन चाहन्छु। दोस्रो, म आफैँ फिफा अध्यक्षको पदमा लालची नहुँदा मात्र मैले इन्फान्टिनोमाथि गरेको आलोचनाले विश्वसनियता पाउँछ’, सेफेरिनले भने।

सेफेरिनका अनुसार, इन्फान्टिनोले फुटबल समर्थक, खेलाडी र प्रशिक्षकहरूको समर्थन गुमाइसकेका छन्। उनले इन्फान्टिनो आफैँले राजीनामा दिने वा आगामी चुनावमा उनको विरुद्धमा बलियो उम्मेदवार खडा हुने दाबी गरे।

‘फुटबललाई नै बेच्ने खेल’
सेफेरिनले इन्फान्टिनोको अधिकार बेच्ने योजनालाई युरोपियन सुपर लिग भन्दा पनि खराब भनेका छन्।

‘सुपर लिगले फुटबललाई ध्वस्त गर्थ्यो, तर यो योजनाले त सिंगो फुटबललाई नै बेच्ने काम गर्थ्यो। सबैको साझा सम्पत्ति रहेको खेललाई बेच्न खोज्नु अचम्मको कुरा हो’, उनले भने।

साथै, उनले इन्फान्टिनोलाई आफू युरोपेली भएको र युइएफएकै सहयोगमा फिफामा पुगेको नबिर्सन समेत चेतावनी दिए। इन्फान्टिनोले फिफा जानुअघि १६ वर्ष युइएफएमा काम गरेका थिए।

केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोनकै भरमा इन्फान्टिनोले एक अमेरिकी खेलाडीको रेड कार्डको प्रतिबन्ध फुकुवा गरिदिएका थिए।

सेफेरिनले यसलाई ‘स्तब्ध पार्ने’ र फिफाको नियमविपरीतको काम भनेका छन्। ट्रम्पले भने इन्फान्टिनोलाई फिफा अध्यक्षबाट हटाउनु ‘ठूलो गल्ती’ हुने भन्दै उनको समर्थन गरेका छन्।

युरोपेली देशहरूले इन्फान्टिनोमाथिको विश्वास गुमाएको घोषणा गरिसकेका छन्।

तर, दक्षिण अमेरिकी र अफ्रिकी फुटबल संघको समर्थन भने उनीसँगै छ। गुमेको समर्थन फर्काउन इन्फान्टिनो यतिबेला फ्रान्स, डोमिनिकन रिपब्लिक लगायतका देशहरूको दौडाहामा छन्।

भदौ ८, २०८३ सोमबार १३:४२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।