श्रीलंकाविरुद्ध लगातार दोस्रो जितको खोजीमा भारत, कप्तान गिललाई कीर्तिमान बनाउने अवसर
एजेन्सी : भारत र श्रीलंकाबीच टेस्ट शृङ्खला अन्तर्गत दोस्रो तथा अन्तिम खेल आइतबारदेखि कोलम्बोस्थित सिंहली स्पोर्ट्स क्लब स्टेडियममा हुँदैछ। पहिलो खेल जितेर शृङ्खलामा अग्रता बनाएको भारत दोस्रो खेलमार्फत शृङ्खला क्लिन स्वीप गर्ने लक्ष्यमा छ।
खेलमा भारतीय टोलीका कप्तान शुभमन गिलका लागि कीर्तिमान कायम गर्ने अवसर रहनेछ। विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्युटीसी)मा अहिले इङ्गल्याण्डका कप्तान जो रुट संयुक्त रूपमा शीर्ष स्थानमा छन्।
दुवैले समान ५-५ शतक प्रहार गरेका छन्। कोलम्बो टेस्टमा थप एक शतक प्रहार गरे गिल सर्वाधिक शतक बनाउने एक्लो ब्याटर बन्नेछन्। कप्तान गिल डब्ल्युटीसीको चालू चक्रमा एक हजार रन पूरा गर्नबाट २६ रन मात्र टाढा छन्।
उनले हालसम्म ९ टेस्टमा ६९.५७ को औसतले ९७४ रन बनाएका छन्। उनीभन्दा अगाडि जो रुट (११७४ रन) र ह्यारी ब्रुक (११४७ रन) रहेका छन्। यस्तै, टेस्ट क्रिकेटको समग्र करियरमा ३ हजार रन पूरा गर्न गिललाई मात्र ७ रन आवश्यक छ।
उनले हालसम्म ४२ टेस्टको ७६ इनिङ्समा ८ शतक र ११ अर्धशतकसहित दुई हजार ९९३ रन बनाएका छन्। गालेमा सम्पन्न पहिलो टेस्टमा भारत १६५ रनले विजयी भए पनि कप्तान गिलको प्रदर्शन भने कमजोर रह्यो। उनले पहिलो इनिङ्समा १६ र दोस्रो इनिङ्समा ८ रन मात्र जोडेका थिए।
भारतका लागि पहिलो खेलमा देवदत्त पडिक्कलले १६७ रनको शतकीय इनिङ्स खेलेका थिए भने बलिङतर्फ मानव सुथारले १० विकेट लिएका थिए। पहिलो खेलमा सस्तोमा आउट भएका गिल दोस्रो खेलमा भने लयमा फर्किने प्रयासमा हुनेछन्।
भदौ ७, २०८३ आइतबार ०९:४६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।