हारवुड-बेलिसका लागि एस्टन भिल्लाको १ करोड ८० लाख पाउन्डको प्रस्ताव साउथह्याम्पटनद्वारा अस्वीकार, २ करोड ५० लाख माग

हारवुड-बेलिसका लागि एस्टन भिल्लाको १ करोड ८० लाख पाउन्डको प्रस्ताव साउथह्याम्पटनद्वारा अस्वीकार, २ करोड ५० लाख माग

काठमाडौं : प्रिमियर लिग क्लब एस्टन भिल्लाले डिफेन्डर टेलर हारवुड-बेलिसलाई अनुबन्ध गर्न गरेको प्रस्ताव साउथह्याम्पटनले अस्वीकार गरेको छ।

भिल्लाले २३ वर्षीय सेन्टर-ब्याक हारवुड-बेलिसका लागि १ करोड ८० लाख पाउन्ड र थप बोनस रकमको प्रस्ताव अघि सारेको थियो। तर, साउथह्याम्पटनले उनलाई बेच्न कम्तीमा २ करोड ५० लाख पाउन्ड माग गरेको बीबीसीले जनाएको छ।

भिल्लाका मुख्य डिफेन्डर एज्री कोन्सा ५ करोड पाउन्डभन्दा बढी रकममा आर्सनल जाने पक्कापक्की भएपछि क्लबले उनको विकल्पका रूपमा हारवुड-बेलिसलाई भित्र्याउन खोजेको हो।

म्यानचेस्टर सिटीको एकेडेमीबाट फुटबल सिकेका हारवुड-बेलिस सन् २०२३ देखि साउथह्याम्पटनमा छन्।

सुरुमा ऋणमा आएका उनी पछि स्थायी रूपमा क्लबमा जोडिएका थिए। उनले सन् २०२४ को नेसन्स लिगमा आयरल्याण्डविरुद्ध खेल्दै इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन्।

गत मे महिनामा युरोपा लिगको उपाधि जितेयता एस्टन भिल्लामा ठूलो सङ्ख्यामा खेलाडीहरूको फेरबदल भइरहेको छ। क्लबले आफ्ना केही मुख्य खेलाडी बेचिसकेको छ।

जसअन्तर्गत ​युरी टिलेमान्स म्यानचेस्टर युनाइटेड गए भने​​​​​​​ मोर्गन रोजर्स चेल्सी र लुकास डिग्ने पेरिस सेन्ट-जर्मेन गइसकेका छन्।

​​​​​​​यसैगरी क्लबका मुख्य गोलकिपर इमी मार्टिनेज र कीर्तिमानी गोलकर्ता ओली वाट्किन्सले पनि क्लब छाड्न सक्ने सम्भावना छ।

खेलाडी बहिर्गमनका बीच भिल्लाले नयाँ खेलाडी अनुबन्धमा पनि तीव्रता दिएको छ।

यसै साता क्लबले गोलकिपर जियोन सुजुकी र लेफ्ट-ब्याक माटियो रुगेरीलाई भित्र्याएको छ भने यसअघि मिडफिल्डर जोआओ गोम्स (उभ्सबाट) र फरवार्ड जोहान मान्जाम्बीलाई अनुबन्ध गरिसकेको छ।

भदौ ५, २०८३ शुक्रबार ०९:०८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।