नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम हिमाली भेगसम्मै
काठमाडौं : ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व लामखुट्टे दिवस मनाइँदै छ। लामखुट्टेको टोकाइबाट सर्ने रोगहरू र तिनबाट बच्ने उपायबारे सर्वसाधारणलाई सचेत गराउन यो दिवस मनाइएको हो।
नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे रहेको पुष्टि भइसकेको छ। लामखुट्टेको टोकाइबाट औँलो (मलेरिया), डेङ्गु, चिकुनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानी इन्सेफलाइटिस जस्ता घातक रोगहरू फैलिने गर्छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आवमा ती रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए।
पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमासमेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखम उच्च हुँदै गएका छन्।
विभागले सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको जनाएको छ। किट रोग नियन्त्रण शाखाका प्रमुख डागोकर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको छ।
भदौ ४, २०८३ बिहीबार १०:३४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।