२०० मिटर दौडमा आयुष कुँवरको नयाँ इतिहास, ३० वर्ष पुरानो राष्ट्रिय रेकर्ड ब्रेक

२०० मिटर दौडमा आयुष कुँवरको नयाँ इतिहास, ३० वर्ष पुरानो राष्ट्रिय रेकर्ड ब्रेक

काठमाडौं : नेपाली धावक आयुष कुँवरले २०० मिटर दौडमा तीन दशक (३० वर्ष) पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका छन्।

अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा २१.८७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै उनले सन् १९९५ देखि कायम २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमान भङ्ग गरेका थिए।

त्यसलगत्तै लन्डनमा सम्पन्न प्रतियोगितामा उनले आफ्नै रेकर्डलाई थप सुधार्दै २१.६६ सेकेन्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गरे।

विश्व एथलेटिक्सबाट आधिकारिक मान्यता प्राप्त यी दुवै प्रतियोगितामा बनेको कीर्तिमान अन्तर्राष्ट्रिय स्तरमै दर्ता भएको छ। यसअघि आयुषले ६० मिटर दौडमा समेत ७.०२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए।

दक्षिण कोरियामा आयोजित एसियाली एथलेटिक्सका क्रममा ह्यामस्ट्रिङको गम्भीर चोट बेहोरेका आयुषले त्यसको एक वर्षपछि कठिन पुनरागमन गर्दै यो सफलता हात पारेका हुन्।

हाल अमेरिकामा रहेका उनले पूर्णकालीन जागिर र सीमित स्रोत-साधनका बाबजुद निरन्तरको प्रशिक्षण र कडा मिहिनेतबाट यो उपलब्धि हासिल गरेका हुन्।

कीर्तिमान बनाएपछि प्रतिक्रिया दिँदै आयुषले भने, ‘तीन दशक पुरानो कीर्तिमान तोड्न पाउँदा निकै गर्व लागेको छ। हाम्रा धावकहरूले पर्याप्त अवसर नपाएकै कारण यो कीर्तिमान यति लामो समयसम्म कायम रहेको हो। कीर्तिमान तोडिनकै लागि बन्छ, आशा छ आउने दिनमा अन्य नेपाली एथलिटहरूले यसलाई चाँडै ब्रेक गर्नेछन्।’

उनले आगामी दिनमा खेलाडी उत्पादनका लागि ‘स्प्रिन्ट प्रोजेक्ट’ नामक निजी परियोजना ल्याउने तयारी गरिरहेको समेत बताए।

सन् २०२३ देखि आयुषको खेल यात्रामा हवाई टिकट तथा आवश्यक खेल पोसाक सहयोग गर्दै आएको शिवम् सिमेन्टले उनको यस ऐतिहासिक सफलताप्रति हार्दिक बधाई ज्ञापन गरेको छ।

भदौ ३, २०८३ बुधबार ०९:३८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।