विश्वकपमा ट्रम्पको हस्तक्षेपबारे बोले प्रिमियर लिग प्रमुख मास्टर्स, भने- इन्फान्टिनोको विकल्प खोज्ने बेला आयो

विश्वकपमा ट्रम्पको हस्तक्षेपबारे बोले प्रिमियर लिग प्रमुख मास्टर्स, भने- इन्फान्टिनोको विकल्प खोज्ने बेला आयो

एजेन्सी : प्रिमियर लिगका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रिचर्ड मास्टर्सले विश्वकपको व्यावसायिक अधिकार निजी कम्पनीलाई बेच्ने फिफा अध्यक्ष जियानी इन्फान्टिनोको योजनाको कडा आलोचना गरेका छन्।

नयाँ सिजन सुरु हुनुअघि बीबीसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा उनले फिफादेखि प्रिमियर लिगका विवादित मुद्दासम्म खुलेर कुरा राखेका छन्।

विश्वकपको २१ प्रतिशत अधिकार बेच्ने फिफाको योजनालाई मास्टर्सले फिफा आफैंले ‘आत्मघाती बटन’ थिचेको सङ्ज्ञा दिएका छन्। उनले इन्फान्टिनोको विकल्पमा फुटबललाई एकताबद्ध गर्न सक्ने नयाँ ‘साझा उम्मेदवार’ फिफा अध्यक्षमा आउनुपर्ने माग गरे।

विश्वकपमा अमेरिकी खेलाडी फोलारिन बालोगुनको रेड कार्ड राजनीतिक हस्तक्षेप (डोनाल्ड ट्रम्पको आग्रह) पछि फुकुवा गरिएकोप्रति उनले चिन्ता व्यक्त गरे। फिफामा रेड कार्ड रिभ्यु गर्ने स्पष्ट नियम नभएको उनको भनाइ छ।

एभर्टन र नटिङ्घम फरेस्टको अंक घटाइँदा चेल्सीलाई भने आर्थिक नियम तोडेको आरोपमा जरिवाना (१ करोड पाउन्ड) मात्र गराइएको थियो। मास्टर्सले चेल्सीका नयाँ मालिक आफैंले पुरानो गल्ती स्वीकार गर्दै प्रमाण पेस गरेकाले कडा सजाय नदिइएको प्रस्ट पारे।

म्यानचेस्टर सिटीमाथि लागेका १०० भन्दा बढी आर्थिक नियम उल्लंघनका आरोपको फैसला आउन ‘अपेक्षाभन्दा धेरै समय लागिरहेको’ उनले स्वीकारे। यद्यपि, कानुनी प्रक्रियालाई त्यसको निष्कर्षसम्म पुग्न दिनुपर्ने उनले बताए।

केही ठूला खेलाडी र म्यानेजरहरूले लिग छाडे पनि विश्वका उत्कृष्ट १०० खेलाडीमध्ये आधाजसो प्रिमियर लिगमै रहेकाले यो लिग अझै पनि उत्कृष्ट रहेको उनको दाबी छ।

भदौ ३, २०८३ बुधबार ०७:५७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।