अध्यक्ष इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका ‘सीओओ’ लामुर बर्खास्त

अध्यक्ष इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका ‘सीओओ’ लामुर बर्खास्त

एजेन्सी : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आफ्ना प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामुरलाई बर्खास्त गरेको छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको विवादास्पद योजनाको कडा आलोचना गरेको तीन साता नपुग्दै उनलाई हटाइएको हो।

फिफाका महासचिव म्याटियस ग्राफ्स्ट्रोमले सोमबार बेलुका कर्मचारीहरूलाई इमेल पठाउँदै संस्था र लामुरबीच 'बाटो अलग गर्ने सहमति भएको' जानकारी गराएका छन्।

फिफाका प्रवक्ताले पनि अगस्ट १७, २०२६ देखि लागू हुने गरी लामुर पदमुक्त भएको पुष्टि गरेका छन्। नोभेम्बर २०२४ मा फिफा प्रवेश गर्नुअघि लामुर युरोपेली फुटबल महासंघ (युइएफए) का उपमहासचिव थिए।

किन हटाइए लामुर ?
गत महिना लामुरले अध्यक्ष इन्फान्टिनोको ‘फिफा फरवार्ड इन्टरप्राइज (एफएफई)’ योजनालाई ‘एक व्यक्तिको मात्र परियोजना’ भन्दै खुला आलोचना गरेका थिए।

अध्यक्षले मानिसहरूलाई एकताबद्ध गर्नुको सट्टा उल्टो काम गरिरहेको र फिफा प्रशासनलाई नै धोका दिइएको उनको आरोप थियो।

सोही बेला लामुरले सत्य बोल्दा जागिर गए पनि आफूलाई परवाह नहुने बताएका थिए। "यदि मेरो जागिर जान्छ भने जाओस्, म त्यो निर्णयलाई सम्मान गर्छु। कम्तीमा म राति शान्तिले निदाउन त सक्छु," उनले भनेका थिए।

के थियो इन्फान्टिनोको योजना ?
इन्फान्टिनोले विश्वकपसहित फिफाका सबै प्रतियोगिताको व्यापारिक र टिकट अधिकार व्यवस्थापन गर्न 'एफएफई' नामक नयाँ कम्पनी खडा गर्ने र त्यसको २१ प्रतिशत सेयर निजी कम्पनीलाई बेच्ने प्रस्ताव ल्याएका थिए।

तर, युरोपेली फुटबल महासंघ (युइएफए), उत्तर तथा मध्य अमेरिकी महासंघ (कोन्काकाफ) र एसियाली फुटबल महासंघले यसको कडा विरोध गरे।

युइएफएले त योजना अघि बढे विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनो उक्त योजनाबाट पछि हट्न बाध्य भएका थिए। यही विवादका बीच इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले पनि राजीनामा दिएका थिए।

इन्फान्टिनोलाई संकट
यो विवादपछि इन्फान्टिनोमाथि दबाब चुलिएको छ। आगामी वर्ष हुने फिफा कंग्रेसमा चौथो कार्यकालका लागि उठ्ने तयारीमा रहेका उनलाई युइएफए र कोन्काकाफले समर्थन फिर्ता लिइसकेका छन्।

अफ्रिका, दक्षिण अमेरिका र ओसियाना महासंघले इन्फान्टिनोलाई समर्थन गरे पनि युरोपबाट उनीविरुद्ध माहोल बन्दै गएको छ। इंग्ल्यान्ड, वेल्स र आयरल्यान्डपछि सोमबार स्कटिस फुटबल संघले पनि इन्फान्टिनोलाई समर्थन नगर्ने घोषणा गरेको छ।

यसैबीच, फुटबल सुशासनको क्षेत्रमा काम गर्ने च्यारिटी संस्था 'फेयरस्क्वायर'ले इन्फान्टिनोलाई पुनः चुनाव लड्न रोक लगाउन माग गर्दै फिफालाई पत्र लेखेको छ।

भदौ २, २०८३ मंगलबार ०७:२१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।