क्रिस्टियानो रोनाल्डोद्वारा सन्यासको स्पष्ट संकेत, भने - 'सम्भवतः यो मेरो अन्तिम सिजन हुनेछ'
एजेन्सी : पोर्चुगलका सुपरस्टार तथा कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियरबाट सन्यास लिने स्पष्ट संकेत गरेका छन्। ४१ वर्षीय पोर्चुगलका कप्तान तथा साउदी प्रो लिग क्लब अल-नासरका स्टार फरवार्डले आगामी सिजन नै उनको खेलाडी जीवनको अन्तिम सिजन हुन सक्ने बताएका छन्।
भोग म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा रोनाल्डोले भनेका छन्, "यो सम्भवतः मेरो फुटबलको अन्तिम वर्ष हो र म एउटा शानदार विरासत छोडेर जान चाहन्छु।"
२५ वर्ष लामो त्याग र समर्पण भरिएको करियरपछि फुटबल छोड्दा ठूलो खालीपन आउने स्वीकार गर्दै रोनाल्डोले आफ्नो भविष्यको योजना पहिले नै बनाएको बताएका छन्।
"मैले मेरो भविष्यको पूरै योजना बनाइसकेको छु। फुटबलले ठूलो खालीपन ल्याउन सक्ने भएकाले समयलाई एउटै तरिकाले मात्र नभई विभिन्न माध्यमबाट व्यस्त राख्नुपर्छ। म अझ बढी रमाइलो गर्न, धेरै भ्रमण गर्न, प्याडेल खेल्न र हेर्न चाहन्छु जुन मलाई धेरै मन पर्छ। साथै हामीले कमाएको उपलब्धि र सुखलाई उपभोग गर्न चाहन्छु, किनकि २५ वर्ष धेरै त्यागका साथ बिताएको छु," रोनाल्डोले भने।
गत मंगलबार आफ्नी प्रेमिका जर्जीना रोड्रिगेजसँग विवाह गरेका थिए। उनले पोर्चुगलको कास्काइसस्थित आफ्नै घरमा परिवार र आफ्ना पाँचै जना छोराछोरीको उपस्थितिमा विवाह गरेका थिए। विवाहपछि रोनाल्डो अब परिवारकेन्द्रित भविष्यतर्फ अघि बढ्न चाहन्छन्।
क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक करियर र उपलब्धि
रोनाल्डोले सन् २००२ मा स्पोर्टिङबाट सिनियर फुटबलमा डेब्यु गरेदेखि दुई दशकभन्दा लामो समय विश्व फुटबलमा बिताइसकेका छन्।
४१ वर्षीय पोर्चुगिज स्टार फरवार्ड हाल साउदी अरेबियाको अल-नासर क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। आफ्नो दुई दशकभन्दा लामो खेल जीवनमा उनले विश्व फुटबलका सर्वाधिक प्रतिष्ठित ५ पटक ब्यालोन डि'ओर र ५ पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेका छन्। रोनाल्डोले इङ्गल्याण्डको म्यानचेस्टर युनाइटेड, स्पेनको रियल म्याड्रिड, इटालीको युभेन्टस र साउदी अरेबियाको अल-नासरबाट खेल्दै सबै देशका प्रमुख लिग उपाधिहरू आफ्नो नाममा दर्ता गराएका छन्।
अन्तर्राष्ट्रिय मञ्चमा पोर्चुगल राष्ट्रिय टोलीको कप्तानको रूपमा उनले सन् २०१६ को युरो कप र युइएफए नेसन्स लिगको ऐतिहासिक उपाधि दिलाएका छन्। पुरुष अन्तर्राष्ट्रिय फुटबल इतिहासमै सर्वाधिक १४६ गोल गर्ने कीर्तिमान कायम गरेका रोनाल्डोले क्लब र देशका लागि गरी कुल ९७६ वरिष्ठ गोल गरिसकेका छन्। फुटबल इतिहासकै सबैभन्दा ठूलो माइलस्टोन मानिने एक हजार गोलको आँकडा पुरा गर्न उनी अब मात्र २४ गोल टाढा छन्।
तर रोनाल्डोको ट्रफी क्याबिनेटमा विश्वकपको उपाधि भने छैन। यस वर्षको विश्वकपमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको थियो।
जुलाईमा छैटौं विश्वकप नै अन्तिम हुने हो कि भनी सोधिएको प्रश्नमा रोनाल्डोले परिवारसँग शान्त दिमागले छलफल गरेर मात्र निर्णय लिने बताएका थिए।
भदौ १, २०८३ सोमबार ११:०४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।