६ करोड ५० लाख पाउन्डमा बार्सिलोना जाँदै रोड्री, विकल्पको खोजीमा सिटी

६ करोड ५० लाख पाउन्डमा बार्सिलोना जाँदै रोड्री, विकल्पको खोजीमा सिटी

एजेन्सी : स्पेनका कप्तान तथा सन् २०२४ का बालोन डी'ओर विजेता मिडफिल्डर रोड्रीलाई म्यानचेस्टर सिटीबाट करिब ६ करोड ५० लाख पाउन्डमा अनुबन्ध गर्न बार्सिलोना सहमत भएको छ।

३० वर्षीय रोड्रीले स्पेनिस च्याम्पियन बार्सिलोनासँग ४ वर्षे सम्झौता गर्नेछन् र यो प्रक्रिया आगामी केही दिनमै पूरा हुनेछ।

यसअघि बार्सिलोनाको ३ करोड ८५ लाख पाउन्डको प्रस्ताव सिटीले अस्वीकार गरेको थियो। उनलाई भित्र्याउन रियल म्याड्रिडले पनि चासो देखाएको थियो।

सन् २०१९ मा ६ करोड २८ मिलियन पाउन्डमा एट्लेटिको म्याड्रिडबाट सिटी आएका रोड्रीले ७ सिजनमा २९८ खेल खेल्दै ४ प्रिमियर लिग र एक च्याम्पियन्स लिगसहित १२ मुख्य उपाधि जितेका थिए।

गम्भीर चोटका कारण २०२४-२५ को सिजनका धेरै खेल गुमाए पनि उनले स्पेनलाई विश्वकप जिताउँदै ‘प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि जितेका थिए।

सिटीका नयाँ प्रशिक्षक एन्जो मारेस्काले रोड्रीजस्ता विश्वकप र बालोन डी'ओर विजेता खेलाडी सबै टोलीलाई आवश्यक पर्ने बताएका छन्।

सिटीले यसै समरमा नटिङ्घम फरेस्टबाट इलियट एन्डरसनलाई अनुबन्ध गरिसकेको छ भने बर्नान्डो सिल्भाले पनि क्लब छाडेका छन्।

रोड्री र सिल्भाको अभाव पूर्ति गर्न सिटी १८ वर्षीय मोरोक्कन मिडफिल्डर अयुब बुआडी, चेल्सीका एन्जो फर्नान्डेज, बर्नमाउथका २२ वर्षीय इङ्ग्लिस मिडफिल्डर एलेक्स स्कट र लिभरपुलका अर्जेन्टिनी मिडफिल्डर एलेक्सिस म्याक अलिस्टरको खोजीमा छ।

भदौ १, २०८३ सोमबार ०७:५८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।