ग्यास बिक्रेतामार्फत सहज बिक्री वितरणको व्यवस्था मिलाउन महासङ्घको माग
काठमाडौं : ग्यास बिक्रेता महासङ्घ नेपालले ग्यास उद्योग तथा विभिन्न अस्थायी बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री वितरण रोकी स्थानीय बिक्रेतामार्फत एलपी ग्यास बिक्री गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा आज जारी विज्ञप्तिमा आधिकारिक बिक्रेतालाई पन्छाएर उद्योग र फरक–फरक स्थानका बिक्री केन्द्रमार्फत ग्यास बाँड्दा उपभोक्ताले अनावश्यक दुःख र सास्ती पाउनुका साथै ग्यासको अभाव थप जटिल बन्दै गएको उल्लेख छ।
“बिक्रेतामार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले यसको अभाव थप जटिल बन्दै गएको छ”, महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
विक्रेतालाई ग्यास नदिने र अनुगमनको बहानामा दु:ख दिने सरकारी रवैयाका कारण बजार भद्रगोल बनेको महासंघ जनाएको छ।
"सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दु:ख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ," महासंघबाट जारी विज्ञप्तिमा उल्लेख छ।
देशभर खाना पकाउने ग्यासको चरम अभाव भइरहेका बेला महासङ्घले वास्तविक समस्या समाधानमा केन्द्रित हुन र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सम्बद्ध सबै सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएको छ।
साउन ३१, २०८३ आइतबार १६:५८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।