ला लिगाको सुरुवात: आलाभेस र सेभियाको विजयी सुरुवात

ला लिगाको सुरुवात: आलाभेस र सेभियाको विजयी सुरुवात

काठमाडौं : फिफा विश्वकप २०२६ को समापनपछि सुरु भएको युरोपेली सिजनको पहिलो ठूलो लिग स्पेनी ला लिगामा आलाभेस र सेभियाले विजयी सुरुवात गरेका छन्।

शनिबार राति सम्पन्न खेलहरूमा आलाभेसले गेटाफेलाई ३-० ले र सेभियाले रायो भाल्कानोलाई २-१ गोल अन्तरले पराजित गरेका हुन्।

घरेलु मैदानमा भएको खेलमा आलाभेसले १० खेलाडीमा सीमित गेटाफेविरुद्ध सहज जित निकाल्यो। खेलको ४२औँ मिनेटमा किको फेमेनियाले रातो कार्ड पाएपछि गेटाफे दबाबमा आएको थियो। 

आलाभेसका लागि ७३औँ मिनेटमा नाहुएल टेनाग्लियाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा मारियानो डियाजले दोस्रो र चौथो मिनेटमा मिकल रोड्रिगेजले तेस्रो गोल थपे। मारियानो डियाजले एक गोल गर्नुका साथै अन्य दुई गोलमा समेत महत्वपूर्ण भूमिका निभाएका थिए।

शनिबारकै अर्को प्रतिस्पर्धात्मक खेलमा सेभियाले सुरुवाती गोल खाएर पनि पुनरागमन जित दर्ता गर्यो। खेलको चौथो मिनेटमै अल्भारो गार्सियाको गोलबाट रायो भाल्कानोले अग्रता लिएको थियो। तर, दोस्रो हाफमा सेभियाले दुई पेनाल्टीमार्फत खेल आफ्नो पक्षमा पार्यो। 

५२औँ मिनेटमा जोन गुरिडीले पेनाल्टीमार्फत बराबरी गोल गरे भने खेलको अन्तिम समयमा पेक्वे फर्नान्डेजले पेनाल्टीबाटै गोल गर्दै सेभियाको जित सुनिश्चित गरे। लिग अन्तर्गत आइतबार पनि दुई खेल हुँदैछन्। 

पहिलो खेलमा १४ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको रासिङ सान्टान्डरले भिल्लारियलको सामना गर्नेछ भने दोस्रो खेलमा एस्पान्योल र लेभान्ते भिड्ने छन्।

साउन ३१, २०८३ आइतबार ०८:४३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।