विश्वकपका यी ६ नयाँ नियम प्रिमियर लिगदेखि तल्लो डिभिजनसम्म लागु हुने

विश्वकपका यी ६ नयाँ नियम प्रिमियर लिगदेखि तल्लो डिभिजनसम्म लागु हुने

एजेन्सी : सन् २०२६-२७ को फुटबल सिजनदेखि खेलमा थुप्रै नयाँ नियमहरू देख्न पाइनेछ। विशेषगरी खेलाडीले जानाजान समय खेर फाल्ने (टाइम वेस्टिङ) प्रवृत्तिलाई रोक्न र खेललाई छिटो तथा रोमाञ्चक बनाउन यी नियमहरू ल्याइएका हुन्।

विश्वकपमा परीक्षण गरिएका यी नियमहरूले गत साता काराबाओ कपको पहिलो चरणमा केही अन्योल सिर्जना गरेका थिए। यद्यपि, अब यो सातादेखि सुरु हुने इङ्लिस फुटबलका सबै तहमा (प्रिमियर लिगदेखि सन्डे लिगसम्म) यी नियमहरू लागु हुनेछन्। ‘भीएआर’को प्रयोग भने तल्ला लिगहरूमा हुने छैन।

दर्शकलाई दिक्क लाग्ने गरी समय खेर फाल्ने कामलाई रोकेर धेरैभन्दा धेरै समय फुटबल खेलाउने मुख्य उद्देश्य यी नियमहरूको हो। विश्वकपमा यी नियम सफल पनि भएका थिए।

सन् २०२२ को कतार विश्वकपमा बल औसतमा ५८ मिनेट ३ सेकेन्ड (५६.८६%) मैदानमा चलेको थियो भने यसपटक थपिएको समय कम भए पनि बल ६०.४३% समय मैदानमा चलेको थियो।

खेलाडीहरूलाई सजाय दिनुभन्दा पनि उनीहरूको बानी सुधार्न यी नियम ल्याइएको हो। तर, खेलको अन्त्यतिर समय कटाएर नतिजा आफ्नो पक्षमा पार्न खोज्ने टोलीका लागि भने यी नियम टाउको दुखाइ बन्न सक्छन्।

अब फुटबलमा देखिने नयाँ नियमहरू यस्ता छन्:
थ्रो-इन र गोल-किकमा काउन्टडाउन
यदि कुनै खेलाडीले खेल सुरु गर्न जानाजान ढिलाइ गरेमा, रेफ्रीले हातले इसारा गर्दै ५ सेकेन्डको काउन्टडाउन सुरु गर्नेछन्।

समय सकिँदासम्म पनि बल प्रहार नगरे रेफ्रीले विपक्षी टोलीलाई थ्रो-इन दिनेछन्। त्यसैगरी, खेलको अन्त्यतिर गोलकिपरले गोल-किक लिन धेरै समय लगाएमा रेफ्रीले विपक्षीलाई ‘कर्नर’ दिन सक्नेछन्।

मैदान छाड्न १० सेकेन्डको समयसीमा
परिवर्तन (सब्स्टिच्युट) गरिएका खेलाडीले १० सेकेन्डभित्र सबैभन्दा नजिकको रेखाबाट मैदान छाडिसक्नुपर्नेछ।

यदि खेलाडीले ढिला गरेमा, उनको सट्टामा मैदान पस्न लागेका नयाँ खेलाडीले कम्तीमा एक मिनेट कुर्नुपर्नेछ। त्यो समयभरि टोलीले १० जना खेलाडीले मात्र खेल्नुपर्नेछ। काराबाओ कपमा मिडल्सब्रोका विल ल्याङ्कसेयर ढिलो बाहिरिँदा टोलीले यो सजाय भोगिसकेको छ।

चोटग्रस्त खेलाडी १ मिनेट मैदान बाहिरै बस्नुपर्ने
यसअघि चोट लागेर उपचार गराएपछि खेलाडी ३० सेकेन्ड मैदान बाहिर बस्थे। अब त्यसलाई बढाएर १ मिनेट पुर्याइएको छ।

विपक्षीको लय बिगार्न बिनाकारण खेल रोक्ने प्रवृत्ति रोक्न यो नियम ल्याइएको हो। यद्यपि, फाउल गर्ने खेलाडीले पहेँलो वा रातो कार्ड पाएको खण्डमा भने चोटग्रस्त खेलाडी मैदान बाहिर जानुपर्ने छैन।

गोलकिपरको ‘नक्कली चोट’मा प्रतिबन्ध
खेल भइरहँदा अचानक गोलकिपर मैदानमा ढल्ने र त्यही मौकामा प्रशिक्षकले अन्य खेलाडीलाई बोलाएर रणनीति सिकाउने (ट्याक्टिकल टाइमआउट) चलन निकै बढेको छ। अब यो बन्द हुनेछ।

यदि गोलकिपरले उपचारको माग गरेमा, प्रशिक्षकले छानेको कुनै एक जना ‘आउटफिल्ड’ (अन्य पोजिसनको) खेलाडी १ मिनेटका लागि मैदान बाहिर जानुपर्नेछ।

पेनाल्टी बक्सभित्र ह्यान्डबलको स्पष्ट नियम
आजभोलि लामो गोल-किक हान्नुको साटो पेनाल्टी बक्सभित्रै डिफेन्डरलाई छोटो पास दिने चलन छ। यसमा धेरै पटक विवाद भएको छ।

अब नयाँ नियमअनुसार गोलकिपर वा डिफेन्डरले बल प्रहार गरेपछि गोल-किक लिइएको मानिनेछ। त्यसपछि डिफेन्डरले हात वा पाखुराले बल छोएमा सीधै पेनाल्टी हुनेछ र गोलकिपरले ब्याकपासमा हातले छोएमा इन्डाइरेक्ट फ्रि-किक हुनेछ।

भीएआरमा केही नयाँ अधिकार
अब भीएआरले दोस्रो पहेँलो कार्डको अवस्थामा पनि रिभ्यु गर्न पाउनेछ।

त्यस्तै, कर्नर वा फ्रि-किक लिनुअघि नै आक्रमण गर्ने टोलीका खेलाडीले फाउल गरेको भए पनि भिएआरले हेर्न सक्नेछ। तर, विश्वकपमा जस्तो गलत कर्नरको निर्णयमा भने भीएआरको प्रयोग हुने छैन।

साउन ३०, २०८३ शनिबार ०९:१८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।