प्रिमियर लिग जितेर इतिहास रचेको लेस्टर सिटी बिक्रीमा, १६ वर्षपछि थाई मालिक बाहिरिँदै

प्रिमियर लिग जितेर इतिहास रचेको लेस्टर सिटी बिक्रीमा, १६ वर्षपछि थाई मालिक बाहिरिँदै

एजेन्सी : सन् २०१६ मा फुटबल इतिहासकै सबैभन्दा चामत्कारिक नतिजा निकाल्दै इंग्लिस प्रिमियर लिगको उपाधि जितेको क्लब लेस्टर सिटी अन्ततः बिक्रीमा राखिएको छ। क्लबका थाई मालिक ‘किङ पावर’ समूहले १६ वर्षपछि क्लबको स्वामित्व छाड्ने तयारी गरेको हो।

अमेरिकी लगानी बैंक ‘सिटीग्रुप’मार्फत क्लब बिक्रीको प्रक्रिया अघि बढाइएको छ। ‘प्रोजेक्ट लाइनअप’ नाम दिइएको बिक्री पुस्तिकामा क्लबको कुल भौतिक सम्पत्तिको मूल्य २० करोड पाउन्डभन्दा बढी आँकलन गरिएको छ।

बिक्री सूचीमा लेस्टर सिटीको मुख्य टिम, महिला टिम, ३२ हजार दर्शक क्षमताको ‘किङ पावर स्टेडियम’ र सन् २०२० मा १२ करोड पाउन्ड खर्चेर बनाइएको अत्याधुनिक ‘सिग्रेभ ट्रेनिङ सेन्टर’ समावेश छन्।

यसका साथै बेल्जियमको भगिनी क्लब ‘ओएच लुभेन’लाई पनि बिक्री प्याकेजमै समेटिएको छ।

सफलताको विज्ञापन, आर्थिक संकट ढाकछोप
लगानीकर्ता आकर्षित गर्न तयार पारिएको पुस्तिकामा लेस्टरले असम्भव जस्तो समीकरण उल्टाएर २०१६ मा जितेको प्रिमियर लिग र २०२१ को एफए कपको स्वर्णिम इतिहासलाई निकै जोडतोडका साथ प्रस्तुत गरिएको छ।

तर, क्लबको वर्तमान दुर्दशालाई उक्त पुस्तिकामा लुकाइएको छ। प्रिमियर लिगबाट लगातार खस्कँदै अहिले तेस्रो श्रेणीको ‘लिग वान’मा पुगेको विषय यसमा समेटिएको छैन।

साथै, सन् २०२३ देखि २०२५ सम्म लगातार रेलिगेसनमा पर्दा क्लबले व्यहोरेको १८ करोड पाउन्डभन्दा बढीको घाटा र बैंकहरूलाई तिर्न बाँकी १० करोड पाउन्डभन्दा बढीको ऋणबारे पनि पुस्तिकामा समेटिएको छैन।

थाईल्यान्डको प्रभावशाली श्रीवद्धनप्रभा परिवारले सन् २०१० मा मात्र ३ करोड ५० लाख पाउन्डमा लेस्टर सिटी क्लब किनेको थियो।

सन् २०१९ मा स्टेडियम बाहिर भएको हेलिकप्टर दुर्घटनामा क्लबका तत्कालीन मालिक विचाईको निधन भएपछि उनका छोरा आयावत ‘टप’ ले नेतृत्व सम्हाल्दै आएका थिए।

तर, पछिल्ला केही वर्षयता क्लबको खस्कँदो प्रदर्शन र मालिकहरूको कमजोर व्यवस्थापनका कारण समर्थकहरू चरम आक्रोशमा थिए।

समर्थकहरूले स्टेडियमबाहिर प्रदर्शन गर्दै क्लब बेच्न चर्को दबाब दिँदै आएका थिए। अर्कोतर्फ, थाइल्यान्डमा रहेको किङ पावरको आफ्नै व्यवसाय पनि आर्थिक मन्दीबाट गुज्रिरहेकाले उनीहरू क्लब बेच्ने निष्कर्षमा पुगेका हुन्।

इतिहासमै दोस्रो पटक तेस्रो श्रेणी (लिग वान) मा झरेको लेस्टर सिटीले शनिबारबाट नयाँ सिजनको सुरुआत गर्दैछ।

उत्कृष्ट भौतिक पूर्वाधार र एकेडेमी भए पनि, क्लबलाई फेरि प्रिमियर लिगको पुरानै लयमा फर्काउन नयाँ आउने लगानीकर्ताका लागि ठूलो आर्थिक र व्यवस्थापकीय चुनौती हुनेछ।

साउन २९, २०८३ शुक्रबार ०७:५७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।