बुवाको निधनपछि मेस्सीले लिए फुटबलबाट अनिश्चितकालीन विश्राम
एजेन्सी : अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना बुबा जर्ज मेस्सीको निधनपछि व्यावसायिक फुटबलबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
फ्रेन्च खेल वेबसाइट फुट मर्काटोलाई उद्धृत गर्दै विभिन्न अर्जेन्टिनी सञ्चारमाध्यमले आठ पटकका बालोन डीओर विजेता मेस्सीले परिवारसँग समय बिताउन र शोकको घडीमा आफ्ना नजिकका आफन्तको साथमा रहन व्यावसायिक फुटबलबाट केही समय टाढा रहने निर्णय गरेको उल्लेख गरेका छन्।
हाल अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सीले मैदानमा पुनरागमन गर्ने कुनै निश्चित मिति तय गरेका छैनन्।
रिपोर्टअनुसार ६८ वर्षीय जर्ज मेस्सीको लामो समयदेखि स्वास्थ्य समस्या रहेकाले अर्जेन्टिनाको रोसारियोस्थित एक क्लिनिकमा उपचारका क्रममा निधन भएको हो। जर्ज मेस्सीको निधन मेस्सीका लागि व्यक्तिगत रूपमा ठूलो क्षति मानिएको छ। जर्ज मेस्सी केवल लियोनलका पिता मात्र नभई उनका मुख्य एजेन्ट र रणनीतिक सल्लाहकारसमेत थिए।
स्टिल कारखानामा सुपरभाइजरका रूपमा काम गरेका उनले पछि छोराको फुटबल करिअर व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए। मेस्सीको प्रारम्भिक फुटबल यात्रा न्यूवेल्स ओल्ड ब्वाइजबाट अघि बढ्दा पनि जर्ज मेस्सी सक्रिय रूपमा संलग्न थिए। मेस्सी १३ वर्षको हुँदा स्पेनको बार्सिलोनाको युवा एकेडेमीमा प्रवेश गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
त्यतिबेला मेस्सी ग्रोथ हर्मोन डिफिसियन्सी (वृद्धि हर्मोनको कमी) सम्बन्धी समस्याबाट पीडित थिए। बार्सिलोनाले उनको उपचार खर्चसमेत बेहोरेको थियो, जसले उनको खेल जीवनलाई नयाँ दिशा दिएको मानिन्छ।
साउन २७, २०८३ बुधबार १४:२९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।