पाँचै सन्तानको उपस्थितिमा रोनाल्डो र जर्जिनाले गरे विवाह

पाँचै सन्तानको उपस्थितिमा रोनाल्डो र जर्जिनाले गरे विवाह

एजेन्सी : पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेज अन्ततः विवाह बन्धनमा बाँधिएका छन्।

४१ वर्षीय रोनाल्डो र ३२ वर्षीया मोडल जर्जिनाले सन् २०२६ अगस्ट ११ का दिन पोर्चुगलको कास्काइस सहरमा कानुनी रूपमा विवाह गरेका हुन्।

विवाह समारोहलाई अत्यन्तै निजी र पारिवारिक राखिएको थियो। उक्त समारोहमा उनीहरूका पाँचजना सन्तान मात्र उपस्थित थिए।

विवाहपछि रोनाल्डोले इन्स्टाग्राममा दुवैले औंठी लगाएको हातको तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेका छन्- ‘सी❤️जी’।

उनीहरूको विवाह ठीक त्यही दिन भएको छ, जुन दिन एक वर्षअघि उनीहरूले इन्गेजमेन्ट गरेका थिए। सन् २०२५ को अगस्ट ११ मा जर्जिनाले इन्स्टाग्राममै औंठी देखाउँदै इन्गेजमेन्टको घोषणा गरेकी थिइन्।

उनले स्पेनी भाषामा लेखेकी थिइन्, ‘यस जीवनमा र मेरा आउने सबै जीवनमा म तिमीलाई स्वीकार गर्छु।’

सन् २०२५ को डिसेम्बरमा ‘एले स्पेन’ पत्रिकासँगको अन्तर्वार्तामा जर्जिनाले रोनाल्डोले अचानक विवाहको प्रस्ताव राख्दा आफू स्तब्ध भएको बताएकी थिइन्।

रोनाल्डोले दिएको त्यो विशाल हिराको औंठीबारे ठट्टा गर्दै उनले भनेकी थिइन्, ‘१० वर्षको पर्खाइपछि उनले मलाई दिनसक्ने यो कम्तीमा पनि एउटा सानो उपहार हो।’

गुच्ची स्टोरदेखि विवाह मण्डपसम्मको यात्रा
रोनाल्डो र जर्जिनाको पहिलो भेट सन् २०१७ मा भएको थियो।

त्यतिबेला जर्जिना प्रसिद्ध ब्रान्ड ‘गुच्ची’को एउटा स्टोरमा ‘सेल्स असिस्टेन्ट’का रूपमा काम गर्थिन्। त्यही वर्ष उनीहरूले फिफा अवार्डको रेड कार्पेटमा सँगै हिँडेर आफ्नो सम्बन्धलाई औपचारिक रूपमा सार्वजनिक गरेका थिए।

सन् २०२२ मा रिलिज भएको नेटफ्लिक्स डकुमेन्ट्री ‘आई एम जर्जिना’मा रोनाल्डोले आफ्नो प्रेमको सुरुवाती दिनहरू सम्झिएका छन्।

उनले भनेका थिए, ‘सुरुमा मलाई हाम्रो सम्बन्ध यति गहिरो होला र म उनीसँग यति धेरै प्रेममा परुँला भन्ने लागेको थिएन। तर बिस्तारै मलाई महसुस भयो, उनी नै मेरो जीवनको साथी हुन्।’

पाँच सन्तानका अभिभावक
रोनाल्डो र जर्जिना ५ सन्तानका अभिभावक हुन्। उनीहरूका १६ वर्षीय छोरा क्रिस्टियानो जुनियर, ९ वर्षीय जुम्ल्याहा इभा मारिया र माटेओ, ८ वर्षीया छोरी अलाना र ४ वर्षीया छोरी बेला छन्।

सन् २०२२ को अप्रिलमा बेलाको जन्म हुँदा उनका जुम्ल्याहा भाइ एन्जलको भने दुःखद निधन भएको थियो। जीवनका हरेक उतारचढावमा सँगै रहेका यो जोडीले अन्ततः आफ्नो प्रेमलाई विवाहको रूप दिएका छन्।

साउन २७, २०८३ बुधबार ०९:२९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।