बलात्कार गरेको आरोपमा दिल्ली क्यापिटल्सका क्रिकेटर अभिषेक पोरेल पक्राउ
एजेन्सी : इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सबाट खेल्दै आएका २४ वर्षीय क्रिकेटर अभिषेक पोरेल बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन्।
विवाहको आश्वासन दिई एक महिलासँग शारीरिक सम्बन्ध राखेको आरोपमा पश्चिम बंगालको हुग्ली जिल्ला प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले अभिषेकविरुद्ध भारतीय न्याय संहिता र सूचना प्रविधि ऐनका विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरेको छ। उनलाई मङ्गलबार नै चिनसुराह अदालतमा उपस्थित गराइने जनाइएको छ।
हुग्लीका प्रहरी उपरीक्षक कुँवर भूषण सिंहले समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै भने, "उनीविरुद्ध मुद्दा दर्ता भएको थियो र उनलाई पक्राउ गर्न अदालतको आदेश पनि आएको थियो। उनलाई गएराति ढिलो पक्राउ गरिएको हो र आजै अदालतमा पेस गरिनेछ।"
प्रहरीका अनुसार कर्नाटककी एक मेडिकल छात्राले गत जुन २३ मा हुग्लीको मोग्रा प्रहरी स्टेशनमा अभिषेकविरुद्ध उजुरी दर्ता गराएकी थिइन्। उजुरी महिला स्वयं र उनकी आमाले दिएका थिए। उजुरीमा ती महिलाले पोरेलले आफूलाई विवाह गर्ने झुटो आश्वासन दिएर शारीरीक सम्बन्ध राखेको र त्यसपछि आफूलाई कुटपिट तथा आपराधिक धम्कीसमेत दिएको आरोप लगाएकी छन्।
बंगाली सञ्चारमाध्यम 'आनन्दबजार पत्रिका'का अनुसार उजुरीको गम्भीरतालाई ध्यानमा राख्दै हुग्लीका प्रहरी उपरीक्षक कुँवर भूषण सिंह आफैँ मोग्रा प्रहरी स्टेशन पुगेका थिए। त्यहाँ उनले प्रहरी चौकीका इन्चार्ज सौमेन विश्वास र डिएसपी (अपराध) अभिजीत सिंह महापात्रसँग छलफल गरी आवश्यक निर्देशन दिएका थिए।
त्यसपछि प्रहरीले आरोपबारे अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले चन्दननगरस्थित अभिषेकको घरमा पटक-पटक पुगेको भए पनि उनी भेटिएका थिएनन्।
पीडित महिलाका अनुसार उनी र अभिषेक करिब ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए र उनीहरूले सँगै विदेश भ्रमणसमेत गरेका थिए। तर, करिब डेढ वर्षअघि उनीहरूबीच मतभेद सुरु भएपछि क्रिकेटर पोरेलले उनीबाट दुरी बनाउन थालेका थिए। पोरेलले पहिले विवाह गर्ने बाचा गरे पनि पछि विवाह गर्न अस्वीकार गरेको आरोप महिलाले लगाएकी छन्।
साउन २६, २०८३ मंगलबार १७:१९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।