‘फुटबलप्रेमी’ प्रधानमन्त्रीकै कालमा ‘शून्य’ अवस्थामा नेपाली फुटबल, पहिलोपटक साफ च्याम्पियनबाट बाहिरिँदै

‘फुटबलप्रेमी’ प्रधानमन्त्रीकै कालमा ‘शून्य’ अवस्थामा नेपाली फुटबल, पहिलोपटक साफ च्याम्पियनबाट बाहिरिँदै

काठमाडौं : ‘धेरै जना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन हो वर्ल्डकपमा? मेरो फेभरेट देशले खेलेकै छैन।’ गत जेठ १३ गते प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जाल फेसबुकमा पोखेको यो फुटबल मोह निकै भाइरल भयो।

त्यसअघि सन् २०२४ मा काठमाडौंमा भएको महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीको तस्बिरलाई नै उनले आफ्नो फेसबुकको कभर फोटो बनाएका थिए। त्यो तस्विर अझै प्रधानमन्त्रीको फेसबुक पेजको कभरमै छ।

तर, सामाजिक सञ्जालमा फुटबलप्रति अगाध प्रेम दर्साउने प्रधानमन्त्री बालेनकै कार्यकालमा नेपाली फुटबल शून्यको अवस्थामा पुग्यो। विश्व फुटबल महासंघ(फिफा)ले अखिल नेपाल फुटबल संघ(एन्फा)माथि अनिश्चितकालीन प्रतिबन्ध लगायो।

मंगलबार फिफाले एन्फामाथि प्रतिबन्ध लगाएको ४७ दिन बित्यो। तर पनि उक्त प्रतिबन्ध फुकुवाका लागि सरकारले कुनै ठोस पहल गरेको देखिएको छैन।

०००

सरकार र एन्फाको अकर्मण्यताका कारण नेपाली फुटबल टीम र खेलाडीको आसन्न साफ च्याम्पियनसिपको सहभागिता समेत अन्योलमा छ।

दक्षिण एसियाली फुटबल महासंघ(साफ)ले बंगलादेशको ढाकामा आगामी नोभेम्बर ४ देखि १७ सम्म हुने १५औं संस्करणको ‘साफ च्याम्पियनसिप २०२६’ को खेल तालिका (ड्र) सार्वजनिक गर्दा नेपालको नाम समावेश छैन।

सन् १९९३ मा सुरुवात भएयता साफ च्याम्पियनसिपका हरेक संस्करणमा नेपालको निरन्तर सहभागिता रहँदै आएको थियो। ३३ वर्षे इतिहासमा नेपाल साफबाट बाहिरिन लागेको यो नै पहिलोपटक हो।

यदि फिफाले आगामी सेप्टेम्बर १ सम्ममा एन्फामाथिको प्रतिबन्ध फुकाएन भने नेपालले यो प्रतियोगिता खेल्न पाउने छैन।

‘भित्रभित्रै काम’ को दाबी, परिणाम भने शून्य
फिफाको प्रतिबन्ध हटाउने विषयमा सरकार गम्भीर नभएको आरोप लागिरहँदा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल भने ‘भित्रभित्रै काम भइरहेको’ दाबी गर्छन्।

गत साउन १९ गते पत्रकारहरूसँगको अनौपचारिक भेटमा उनले भनेका थिए, ‘हामीले आफ्नो काम भित्रभित्रै गरिरहेका छौँ। काम फत्ते नभएसम्म जानकारी नमिलेको मात्रै हो। मैले फिफालाई व्यक्तिगत रूपमा समेत इमेल पठाएको छु।’

तर, मन्त्री पोखरेलको उक्त ‘भित्री पहल’ को परिणाम न त बाहिर देखिएको छ, न त त्यसले फिफाको ध्यान नै खिच्न सकेको छ। प्रतिबन्धको दुई महिना पुग्न लाग्दासमेत फुकुवाको प्रक्रिया जहाँको त्यहीँ छ।

फिफा प्रतिबन्धको संकट सुल्झाउन मन्त्री पोखरेलले नेतृत्व लिनुपर्ने भए पनि उनलाई यसबारे खासै चासो छैन। उनको ध्यान खेलकुदभन्दा पनि शिक्षा क्षेत्रमा मात्रै देखिन्छ।

मन्त्रालय स्रोतका अनुसार खेलकुद प्रशासनमा मन्त्री पोखरेलको भन्दा पनि प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार व्यञ्जनकार (बेन) का दाजु सिद्धि व्यञ्जनकारको वर्चस्व छ। उनी शिक्षा तथा खेलकुद मन्त्रीका खेलकुद सल्लाहकार हुन्।

अन्तर्राष्ट्रिय मञ्चमा देशको साख जोडिएको यो विषयमा सरकारको रणनीति के छ भनी बुझ्न खोज्दा मन्त्रीका सल्लाहकार समेत रहेका सिद्धि सम्पर्कमा आउनै चाहेनन्। पटक-पटक फोन गर्दा सम्पर्कमा नआएपछि कारण खुलाएर म्यासेज पठाउँदा समेत उनले कुनै प्रतिक्रिया नै दिएनन्।

कसरी सुरु भयो संकट?
राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले चैत ११ गते एन्फाकै विधानमा नरहेको अर्ली इलेक्सन गर्न लागेको भन्दै ११ बुँदे सर्तसहित ३ महिनाको लागि प्रतिबन्ध लगायो।

राखेपले जेठ १ गते त्यो प्रतिबन्ध फुकाए पनि फिफाले भने नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको गतिविधिमा ‘सरकारी हस्तक्षेप’ भएको निष्कर्ष निकाल्यो।

त्यसैलाई आधार बनाएर फिफाले गत असार ११ गते एन्फालाई निलम्बन गर्यो, जसको प्रत्यक्ष मार अहिले राष्ट्रिय टोली, खेलाडी, प्रशिक्षक र क्लबहरूमाथि परेको छ।

‘हामीलाई हाम्रो झन्डाको प्रतिनिधित्व गर्न दिइयोस्’
साफ च्याम्पियनसिपको खेल तालिकामा देशको नाम नदेखेपछि अन्तर्राष्ट्रिय मैदानमा पसिना बगाएका खेलाडीहरूको मन कुडिएको छ।

राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले इन्स्टाग्राममा आफ्नो दुःख पोख्दै लेखेका छन्, ‘एक गर्विलो नेपाली फुटबल खेलाडीका रूपमा साफ च्याम्पियनसिपको खेल तालिकामा नेपालको नाम नदेख्दा साँच्चै मन खिन्न भएको छ। हामीले सधैँ गर्व, जोस र आशाका साथ देशका लागि सङ्घर्ष गरेका छौँ।’

त्यस्तै, राष्ट्रिय टोलीका अर्का सदस्य मनिष डाँगीले राष्ट्रका लागि खेल्नु केवल खेल मात्र नभई गौरव, पहिचान र सम्मानको विषय भएको भन्दै सरकार र एन्फासँग प्रतिबन्ध हटाउन अविलम्ब कदम चाल्न माग गरेका छन्।

‘खेलाडीका रूपमा हामी वर्षभरि यही लक्ष्यका लागि मिहिनेत गर्छौँ। हामीलाई हाम्रो झन्डा, हाम्रा जनता र हाम्रा सपनाहरूको प्रतिनिधित्व गर्ने अवसर दिइयोस्’, डाँगीको भनाइ छ।

साउन २६, २०८३ मंगलबार १४:०२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।