फिफा अध्यक्षको बचाउमा ट्रम्प, भने - इन्फान्टिनोलाई हटाउनु 'भयानक गल्ती' हुनेछ

फिफा अध्यक्षको बचाउमा ट्रम्प, भने - इन्फान्टिनोलाई हटाउनु 'भयानक गल्ती' हुनेछ

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउनु 'भयानक  गल्ती' हुने बताएका छन्।

विश्वकपको व्यापारिक र सञ्चालन अधिकारको करिब २१ प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बेच्न 'फिफा फरवार्ड इन्टरप्राइज' नामक योजना अघि सारेपछि उत्पन्न विवादका कारण दबाबमा परेका इन्फान्टिनोको समर्थन गर्दै ट्रम्पले सो टिप्पणी गरेका हुन्।

युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफए, उत्तर अमेरिका र एसियाली फुटबल महासंघले इन्फान्टिनोले फुटबलको सामूहिक हितभन्दा माथि आफूलाई राखेको र धोकापूर्ण तरिकाले विश्वास तोडेको आरोप लगाउँदै खुला पत्र जारी गरेका थिए।

विवादको केन्द्रमा रहेको फिफा फर्वार्ड इन्टरप्राइज योजना अनुसार फिफाका विश्वकपसहित सबै प्रतियोगिताका व्यावसायिक तथा टिकटिङ अधिकारहरू व्यवस्थापन गर्न एउटा नयाँ कम्पनी स्थापना गरिनेछ, जसको २१ प्रतिशत सेयर एउटा निजी लगानी कम्पनीलाई बिक्री गरिने भनिएको थियो।

एफएफईका लागि लगानीकर्ता समूहको नेतृत्व 'थ्राइभ इटर्नल' ले गर्ने अपेक्षा गरिएको थियो। थ्राइभ एउटा अमेरिकी भेन्चर क्यापिटल फर्म हो, जसको स्थापना ट्रम्पका ज्वाइँ जेरेड कुश्नरका भाइ जोसुवा कुश्नरले गरेका हुन्।

गत जुलाई २८ मा एफएफई योजना सार्वजनिक भएपछि ट्रम्पले पहिलोपटक इन्फान्टिनोको समर्थनमा अभिव्यक्ति दिएका हुन्। यसअघि जुलाई ३१ मा सो प्रस्तावबारे बोल्दै ट्रम्पले आफूले इन्फान्टिनोसँग यस विषयमा कुराकानी नगरेको बताएका थिए।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, "कुनै पनि कारणले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई विस्थापित गर्ने सोच मात्र बनाए पनि फिफाले भयानक गल्ती हुनेछ। उहाँ उत्कृष्ट हुनुहुन्छ, जसको नेतृत्वमा इतिहासकै सबैभन्दा सफल, चार गुणा बढी सफल विश्वकप सम्पन्न भएको छ। यदि उहाँ हटेमा, फिफा पुनः कहिल्यै यत्तिको सफल वा फाइदाजनक हुनेछैन।"

इन्फान्टिनो पदबाट हटेमा आगामी विश्वकप त्यति सफल वा लाभदायक हुन नसक्ने पनि ट्रम्पको दाबी छ।

इन्फान्टिनो र ट्रम्पबीच निकट सम्बन्ध रहँदै आएको छ। इन्फान्टिनोले डिसेम्बर २०२५ मा ट्रम्पलाई पहिलो 'फिफा पिस प्राइज' बाट सम्मानित गरेका थिए।

यसैबीच, युरोपेली फुटबल संघले फिफाका प्रतियोगिताहरू बहिष्कार गर्ने र कानुनी कारबाहीमा जाने चेतावनी दिएको छ। तीन महासंघहरूले संयुक्त पत्र जारी गर्नुअघि फिफाले विश्व फुटबलको सर्वोच्च निकाय र अध्यक्ष इन्फान्टिनोलाई 'कमजोर पार्न योजनाबद्ध र निरन्तर प्रयास' भइरहेको बताएको थियो।

युइएफए, कन्काकाफ र एएफसीको पत्रमा भनिएको छ, “जब छलका माध्यमबाट विश्वास तोडिन्छ, जब आफूलाई अधिकार सुम्पिएको सामूहिक संस्थाभन्दा कुनै व्यक्तिले आफूलाई माथि राख्छ, त्यतिबेला उसले आफ्नो जिम्मेवारी त्यागेको हुन्छ।”

पत्रमा इन्फान्टिनोको नाम प्रत्यक्ष रूपमा उल्लेख गरिएको थिएन। तर, बीबीसी स्पोर्टलाई प्राप्त जानकारीअनुसार उक्त पत्रलाई इन्फान्टिनोलाई पदबाट राजीनामा दिएर सम्मानपूर्वक बाहिरिने अवसरका रूपमा बुझिएको छ

बिबिसीका अनुसार यदि इन्फान्टिनो आफ्नो पदमा कायम रहेमा फुटबलका छुट्टै प्रतियोगिताहरू सञ्चालन गर्ने विषयमा तीन महासंघहरूबीच प्रारम्भिक छलफल  समेत सुरु भएको छ। 

साउन २६, २०८३ मंगलबार १३:२४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।