म्यानचेस्टर सिटीद्वारा रोड्रीका लागि बार्सिलोनाको ३ करोड ८५ लाख पाउन्डको अफर अस्वीकार

म्यानचेस्टर सिटीद्वारा रोड्रीका लागि बार्सिलोनाको ३ करोड ८५ लाख पाउन्डको अफर अस्वीकार

एजेन्सी : म्यानचेस्टर सिटीले आफ्ना स्टार मिडफिल्डर रोड्रीका लागि स्पेनिस क्लब बार्सिलोनाले राखेको ३ करोड ८५ लाख पाउन्डको पहिलो प्रस्ताव अस्वीकार गरेको छ।

सिटी ३० वर्षीय स्पेनिस खेलाडीलाई बेच्न सकारात्मक रहे पनि उनका लागि ६ करोड पाउन्डभन्दा बढी रकम दाबी गरिरहेको छ।

इतिहाद स्टेडियममा रोड्रीको सम्झौताको यो अन्तिम वर्ष हो। उनले सम्झौता नवीकरण नगरेपछि यो समर ट्रान्सफर विन्डोमा उनको भविष्यलाई लिएर अड्कलबाजी तीव्र बनेको छ।

रियल म्याड्रिडलाई छाडेर बार्सिलोना रोजे
यसअघि रोड्रीको नयाँ गन्तव्य रियल म्याड्रिड बन्ने लगभग पक्का जस्तै देखिएको थियो। स्पेनलाई विश्वकप दिलाएपछि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसहितको नेतृत्वले उनलाई ‘अस्वीकार गर्नै नसकिने’ आकर्षक प्रस्ताव राखेको थियो।

तर, रोड्रीले व्यक्तिगत रूपमा बार्सिलोना जाने निर्णय गरेपछि रियल म्याड्रिडसँगको वार्ता अन्त्य भएको छ।

स्पेनिस सञ्चारमाध्यमका अनुसार शुक्रबार रियल म्याड्रिडलाई रोड्रीको निर्णयबारे जानकारी गराइएको थियो, जसलाई रियलले सहजै स्वीकार गर्दै वार्ता टुङ्ग्याएको छ। अब बार्सिलोना नै रोड्रीलाई अनुबन्ध गर्ने दौडमा सबैभन्दा अगाडि छ।

सन् २०२४ को प्रतिष्ठित ‘बालोन डी'ओर’ विजेता रोड्रीले गत समरमा स्पेनलाई विश्वकप उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द टुर्नामेन्ट’को उपाधि जितेका थिए।

गम्भीर घुँडाको चोट र हालै ढाडको शल्यक्रिया गराएका कारण केही समय मैदानबाहिर रहेका उनी अर्को हप्ता म्यानचेस्टर सिटीको टोलीसँग जोडिँदै छन्।

ट्रान्सफर विन्डो सकिन लाग्दा म्यानचेस्टर सिटीले रोड्रीको स्थानान्तरण चाँडै टुङ्ग्याएर उनको विकल्प खोज्ने लक्ष्य राखेको छ।

सिटीले फ्रान्सेली क्लब लिलेका १८ वर्षीय मोरक्कन मिडफिल्डर अयुब बुआड्डीलाई अनुबन्ध गर्न वार्ता गरिरहेको छ, तर लिलेले मागेको ८६ मिलियन पाउन्ड रकम भने सिटीका लागि मुख्य चुनौती बनेको छ।

साउन २३, २०८३ शनिबार ११:२५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।