सुदूरपश्चिमबाट जनकपुर सरे हरमित सिंह, अब बोल्ट्सको कप्तानी गर्ने

सुदूरपश्चिमबाट जनकपुर सरे हरमित सिंह, अब बोल्ट्सको कप्तानी गर्ने

काठमाडौं : अमेरिकी क्रिकेटर हरमित सिंह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको कप्तानमा अनुबन्ध भएका छन्।

जनकपुरले शनिबार सामाजिक सञ्जालमार्फत हर्मीतलाई टोलीमा भित्र्याउँदै कप्तानीको जिम्मेवारीसमेत सुम्पिएको जानकारी दिएको हो।

बायाँहाते स्पिन बलिङ अलराउन्डर हरमितले एनपीएलका सुरुवाती दुवै संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। दुवै संस्करणमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याउन उनले महत्वपूर्ण योगदान दिएका थिए।

पहिलो संस्करणका ५ खेलमा २८ रन र ८ विकेट लिएका हरमितले दोस्रो संस्करणमा झनै उत्कृष्ट प्रदर्शन गरे। उनले दोस्रो संस्करणका ९ खेलमा १६६ भन्दा बढीको स्ट्राइक रेटमा १३३ रन बनाउनुका साथै ६.१८ को इकोनोमीमा १२ विकेट हात पारेका थिए।

भारतीय टोलीबाट सन् २०१२ को यू-१९ विश्वकप उपाधि जितेका हरमित हाल अमेरिकी राष्ट्रिय टोलीका प्रमुख सदस्य हुन्। उनले अमेरिकाका लागि २९ टी-२० अन्तर्राष्ट्रिय खेलमा २४२ रन बनाउनुका साथै ३१ विकेट लिइसकेका छन्।

जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको विजेता टोली हो।

अनिल साहको कप्तानीमा पहिलो संस्करणको उपाधि जितेको जनकपुरको नेतृत्व दोस्रो संस्करणमा भने अनिलका साथै दक्षिण अफ्रिकाका वायन पार्नेल र नामिबियाका जान निकोल लोफ्टी-इटनले सम्हालेका थिए।

साउन २३, २०८३ शनिबार ०९:०१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।