डियोमान्डे बने इतिहासकै दोस्रो महंगा टिनएजर खेलाडी, पहिलो को?
एजेन्सी : स्पेनिस क्लब रियल मड्रिडले आरबी लाइपजिगबाट आइभोरी कोस्टका युवा विङ्गर यान डियोमान्डेलाई १४ करोड युरोमा अनुबन्ध गरेको छ।
यससँगै उनी फुटबल इतिहासकै दोस्रो महँगा टिनएजर खेलाडी बनेका छन्। युवा खेलाडीमाथि युरोपियन क्लबहरूले गर्ने मोटो रकमको लगानी नौलो होइन।
ट्रान्सफर मार्केटको तथ्याङ्कअनुसार फुटबल इतिहासमा सर्वाधिक रकममा बिक्री भएका १० महँगा टिनएजर खेलाडीहरू यस्ता छन्:
किलियन एम्बाप्पे सन् २०१७ मा मोनाकोबाट पिएसजी जाँदा उनी सबैभन्दा महँगा टिनएजर बनेका थिए। उनले त्यो समयमा १८ करोड युरोमा ट्रान्सफर भएका थिए। यो समग्र फुटबल इतिहासकै दोस्रो महँगो ट्रान्सफर पनि हो।
लाइपजिगमा सानदार प्रदर्शन गरेपछि भर्खरै रियल मड्रिडले उनलाई १४ करोड युरोमा भित्र्याएको हो भने सन् २०१९ मा पोर्चुगिज क्लब बेन्फिकाबाट स्पेनिस क्लब एट्लेटिको मड्रिडले जोआओ फेलिक्सलाई १२ करोड ७२ लाख युरोमा लगेको थियो।
बोरुसिया डर्टमन्डमा उत्कृष्ट लयमा रहेका जुड बेलिङ्घमलाई १२ करोड ७० लाख युरोमा रियल मड्रिडले भित्र्याएको थियो। यस्तै सन् २०१९ मा आयाक्सका डच डिफेन्डर म्याथिस डि लिग्टलाई ८ करोड ५५ लाख युरोमा इटालियन क्लब युभेन्ट्सले किनेको थियो।
बेन्फिकाका मिडफिल्डर जोआओ नेभेसलाई फ्रेन्च क्लब पिएसजीले ६ करोड ५९ लाख युरोमा अनुबन्ध गर्दा रोमियो लाभियालाई ६ करोड २१ लाख युरोमा साउथह्याम्पटनबाट चेल्सीले भित्र्याएको थियो।
लिलका डिफेन्डर लेनी योरोलाई ६ करोड २० लाख युरोमा म्यानचेस्टर युनाइटेडले अनुबन्ध गर्दा सन् २०१५ मा स्ट्राइकर एन्थोनी मार्सियललाई छ करोड युरोमा म्यानचेस्टर युनाइटेडले फ्रेन्च क्लब मोनाकोबाट किनेको थियो।
यस्तै, क्रोएसियन डिफेन्डर लुका भुस्कोभिच ५ करोड ४० लाख युरोमा टोटनह्यामबाट ब्राइटन गएका थिए। उनी सबैभन्दा महंगा टिनएजर ट्रान्सफरको दशौं स्थानमा छ।
साउन २२, २०८३ शुक्रबार ०८:५५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।