रियल मड्रिडमै रहने भए भिनिसियस जुनियर, छ वर्षको नयाँ सम्झौता

रियल मड्रिडमै रहने भए भिनिसियस जुनियर, छ वर्षको नयाँ सम्झौता

एजेन्सी : ब्राजिलका स्टार विङ्गर भिनिसियस जुनियरले स्पेनिस क्लब रियल मड्रिडसँग नयाँ ६ वर्षे सम्झौता गरेका छन्। यससँगै उनी सन् २०३२ सम्म सान्टियागो बर्नाबेउ (रियल मड्रिड) मै रहने निश्चित भएको छ।

२६ वर्षीय यी खेलाडीको पुरानो सम्झौता सकिन अब १२ महिना मात्र बाँकी थियो। पछिल्ला केही हप्तायता उनलाई अनुबन्ध गर्न इङ्ग्लिस क्लब आर्सनलले चासो देखाइरहेको थियो। तर, बिहीबार रियल मड्रिडले दुवै पक्षबीच ३० जुन २०३२ सम्मका लागि सम्झौता लम्ब्याउने सहमति भएको घोषणा गरेको छ।

नयाँ सम्झौतापछि भिनिसियसले इन्स्टाग्राममा लेखेका छन्, ‘बर्नाबेउमा बिताएका ८ वर्ष धेरै छोटो लाग्यो... अब थप ६ वर्ष, र त्यसपछि सधैँका लागि।’

क्लबले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो इतिहासकै सबैभन्दा सफल समयमा भिनिसियस जुनियर एक अत्यन्तै महत्त्वपूर्ण खेलाडी बनेका छन्।’

बुधबार रियलले नयाँ प्रस्ताव नराख्दासम्म सम्झौता नवीकरणको कुराकानी अघि बढ्न सकेको थिएन। तर, नयाँ सर्तहरूमा भिनिसियस सन्तुष्ट भएपछि सहमति जुटेको बुझिएको छ।

उनी सन् २०१८ मा ब्राजिलियन क्लब फ्लामेङ्गोबाट रियल मड्रिड आएका थिए भने तीन वर्षअघि पनि उनले सम्झौता नवीकरण गरेका थिए। पछिल्लो १८ महिनादेखि नयाँ सम्झौताका लागि छलफल भइरहेको थियो। अन्ततः उनले आफ्नो ‘सपनाको क्लब’ भन्दै आएको रियलमै बसाइ लम्ब्याएका छन्।

ब्राजिलको तर्फबाट विश्वकप खेलेपछि उनी गत सोमबार मात्र प्रि-सिजन प्रशिक्षण र स्वास्थ्य परीक्षणका लागि क्लब फर्किएका थिए।

भिनिसियसले रियल मड्रिडका लागि सबै प्रतियोगितामा गरी ३७५ खेल खेल्दै १२८ गोल गरेका छन्। त्यस्तै, ब्राजिलको राष्ट्रिय टिमबाट ५४ खेलमा १३ गोल गरेका छन्। उनले रियललाई दुईवटा च्याम्पियन्स लिग, तीनवटा ला लिगा र एउटा कोपा डेल रे उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

यदि भिनिसियसले रियलको प्रस्ताव अस्वीकार गरेको भए आर्सनलले उनलाई भित्र्याउने प्रयास तीव्र पार्ने बुझिएको थियो। तर, अब प्रिमियर लिग च्याम्पियन आर्सनलले देब्रे विङ्गरका लागि अर्को खेलाडी खोज्नुपर्ने भएको छ।

रियलमा खेलाडी भित्र्याउने लहर
भिनिसियसको सम्झौता नवीकरण भएकै दिन रियल मड्रिडले आरबी लाइपजिगबाट आइभोरी कोस्टका विङ्गर यान डियोमान्डेलाई १२ करोड पाउन्ड (१४ करोड युरो) सम्मको रकममा अनुबन्ध गरेको घोषणा पनि गरेको छ।

नयाँ मुख्य प्रशिक्षक जोसे माउरिन्होको नेतृत्वमा रियलले यो समर (गर्मी याम) मा भित्र्याएका डियोमान्डे छैटौँ खेलाडी हुन्। यसअघि रियलले बर्नार्डो सिल्भा, इब्राहिमा कोनाटे, डेन्जेल डम्फ्रिज, मार्क कुकुरेला र कार्लोस एस्पीलाई भित्र्याइसकेको छ।

यसका साथै रियल मड्रिडले म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर रोड्रीलाई पनि अनुबन्ध गर्ने लक्ष्य राखेको छ, तर यसका लागि उसले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनासँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ।

साउन २२, २०८३ शुक्रबार ०७:३६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।